१९ भाद्र २०८३, शुक्रबार

चीन–सिंगापुर ‘मेरिटाइम कोअपरेशन–२०२६’ संयुक्त नौसैनिक अभ्यास हुँदै

ड्रागन मिडिया समाचार कक्ष

चीन र सिंगापुरका नौसेनाले सेप्टेम्बरको शुरुवातमा दक्षिण चीनको क्वाङतोङ प्रान्तस्थित चानच्याङ नजिकको समुद्री तथा हवाई क्षेत्रमा ‘मेरिटाइम कोअपरेशन–२०२६’ संयुक्त नौसैनिक अभ्यास गर्ने भएका छन्।

चीनको राष्ट्रिय रक्षा मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अभ्यासमा प्रत्यक्ष गोलाबारी, समुद्रमै जहाजबीच आपूर्ति पुनःभरण तथा संयुक्त खोज तथा उद्धारलगायतका गतिविधि समावेश हुनेछन्।

मन्त्रालयका अनुसार अभ्यासको उद्देश्य चीन र सिंगापुरबीच आपसी विश्वास थप सुदृढ गर्नु, व्यावहारिक सैन्य सहयोग विस्तार गर्नु तथा क्षेत्रीय शान्ति र स्थायित्व संयुक्त रूपमा संरक्षण गर्ने क्षमता अभिवृद्धि गर्नु हो।

यसअघि चीन र सिंगापुरले ‘मेरिटाइम कोअपरेशन’ श्रृंखलाअन्तर्गत चारवटा संयुक्त नौसैनिक अभ्यास सम्पन्न गरिसकेका छन्। सन् २०१५ मा दुवै देशले ‘मेरिटाइम कोअपरेशन–२०१५’ नाममा पहिलो द्विपक्षीय नौसैनिक अभ्यास आयोजना गरेका थिए। त्यसयता दुवै नौसेनाले पालैपालो आयोजक बन्ने नियमित संयन्त्र विकास गरेका छन् भने अभ्यासको आकार र प्रभाव क्रमशः विस्तार भएको छ।

सन् २०२५ मा चीन–सिंगापुर ‘एक्सरसाइज कोअपरेशन–२०२५’ संयुक्त समुद्री अभ्यास मे ९ देखि १६ सम्म सिंगापुरको चाङ्गी नौसैनिक आधार तथा त्यसको पूर्वतर्फको समुद्री र हवाई क्षेत्रमा आयोजना गरिएको थियो।

उक्त अभ्यासलाई बन्दरगाहभित्रको आदानप्रदान, समुद्री अभ्यास र समापन समारोह गरी तीन चरणमा विभाजन गरिएको थियो। समुद्री चरणमा संयुक्त सतही लक्ष्यमा आक्रमण, समुद्रमै आपूर्ति पुनःभरण, संयुक्त खोज तथा उद्धार तथा जहाज चढेर निरीक्षण गर्ने अभ्यास गरिएको थियो।

सन् २०२५ को अभ्यासमा चिनियाँ जनमुक्ति सेनाको नौसेनाका निर्देशित क्षेप्यास्त्र फ्रिगेट स्युचाङ र बारुदी सुरुङ प्रतिरोधी जहाज छिशुई सहभागी थिए। सिंगापुरका तर्फबाट स्टेडफास्ट श्रेणीको फ्रिगेट र बेडोक श्रेणीको बारुदी सुरुङ प्रतिरोधी जहाज सहभागी भएका थिए।

चिनियाँ सैन्य मामिला विज्ञ चाङ च्युन्सले संयुक्त खोज तथा उद्धार अभ्यासको महत्वपूर्ण व्यावहारिक अर्थ रहेको बताएका छन्। उनका अनुसार दक्षिण चीन सागर विश्वका महत्वपूर्ण अन्तर्राष्ट्रिय समुद्री व्यापारिक मार्गहरू जोडिने क्षेत्र भएकाले यहाँ जहाजको आवागमन अत्यन्त घना छ।

दक्षिण चीन सागरको जटिल जल तथा मौसम अवस्थाका कारण प्राकृतिक विपद र समुद्री आकस्मिक घटना बारम्बार हुने गरेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय सामुद्रिक संगठनले निर्धारण गरेको खोज तथा उद्धार जिम्मेवारी क्षेत्रअन्तर्गत चीन र सिंगापुर दुवैको सम्बन्धित क्षेत्रमा उद्धार दायित्व रहेको बताए।

चाङका अनुसार प्रत्यक्ष गोलाबारी अभ्यासले युद्धपोतहरूलाई वास्तविक हतियार प्रयोग क्षमता सुधार्न मद्दत गर्छ भने समुद्रमै आपूर्ति पुनःभरण अभ्यासले टाढाको समुद्री क्षेत्रमा लामो समय सञ्चालन गर्न आवश्यक रसद तथा समर्थन क्षमताको परीक्षण र सुधार गर्छ।

उनले ‘मेरिटाइम कोअपरेशन’ अभ्यासको दुईवटा प्रमुख रणनीतिक महत्व रहेको बताए। पहिलो, यसले दुई देशका सेनाबीच आपसी समझदारी, परम्परागत मित्रता र रणनीतिक विश्वासलाई सुदृढ गर्दै व्यावहारिक सैन्य सहकार्यका लागि आधार तयार गर्छ।

दोस्रो, यस्तो संयुक्त अभ्यासले समुद्री सुरक्षा चुनौती सामना गर्ने दुवै पक्षको समन्वित क्षमता विकास गर्नुका साथै क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्ने व्यावहारिक क्षमता बलियो बनाउने उनले बताए।

सिंगापुरसँग नियमित ‘मेरिटाइम कोअपरेशन’ अभ्यासका अतिरिक्त चीनले थाइल्यान्ड, कम्बोडिया र लाओसलगायत छिमेकी देशहरूसँग पनि नियमित रूपमा संयुक्त सैन्य अभ्यास तथा तालिम सञ्चालन गर्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button