१९ भाद्र २०८३, शुक्रबार

सामाजिक सञ्जालमा स्ट्याटस लेखेको विषयमा पत्रकार तेजन खड्का पक्राउ

ड्रागन मिडिया सम्वाददाता

सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर मोरङको उर्लाबारीका पत्रकार तेजन खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

ब्रेक एन्ड लिंक्स (बीएल) मा कार्यरत खड्कालाई इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले आज घरबाटै नियन्त्रणमा लिएको हो। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ, विराटनगर लैजाने तयारी गरिएको छ।

उर्लाबारी नगरपालिका–७ स्थित खोलाको बगरमा स्थानीय युवा समूहले खेलमैदान बनाउन थालेपछि वडा कार्यालयले काम रोक्न लगाएको विषयलाई लिएर केही दिनदेखि विवाद हुँदै आएको थियो। झाडी हटाएर मैदान निर्माणको तयारी भइरहेका बेला वडा कार्यालयले उक्त स्थानमा पार्क बनाउने योजना रहेको भन्दै काम रोकेको थियो। त्यसपछि स्थानीय युवाले विरोध तथा आन्दोलन गरेका थिए।

सोही विवादको सन्दर्भमा खड्काले बुधबार सामाजिक सञ्जालमा व्यंग्यात्मक शैलीमा ‘मैदान र पार्क छोडौं, रेड लाइट एरिया बनाऊँ, आम्दानी हुन्छ’ भन्ने आशयको स्ट्याटस लेखेका थिए।

खड्काको स्ट्याटसमाथि आपत्ति जनाउँदै उर्लाबारी नगरपालिका–७ की वडाध्यक्ष उर्मिला थापाले विद्युतीय अपराधसम्बन्धी कसुरमा उजुरी दिएको बताइएको छ। सोही उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले खड्कालाई जिल्ला प्रहरी कार्यालय पुर्‍याएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी गरेको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button