माथिल्लो त्रिशूली ३ ‘ए’बाट दुई जनाको जीवितै उद्धार, सुरुङभित्र अझै मानिस फसेको आशंका

ड्रागन मिडिया सम्वाददाता
नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्रबाट शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ।
उद्धार गरिएकामा सप्तरीका सञ्जय साह र काठमाडौंका कवीर महर्जन रहेका छन्। महर्जनको स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई काठमाडौं ल्याएर छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ।
साहको स्वास्थ्यमा भने तत्काल ठूलो समस्या नदेखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। थप स्वास्थ्य परीक्षणका लागि उनलाई पनि काठमाडौं ल्याइँदैछ।
उद्धारपछि साहले बाढी आउँदा आफू कन्ट्रोल रुममा कार्यरत रहेको र त्यतिबेला सुरुङ क्षेत्रमा करिब ४० देखि ४५ जना मानिस रहेको बताएका छन्।
“अरू बेला चार–पाँच जना मात्र हुन्थे। त्यतिबेला ४०–४५ जना थिए। कन्ट्रोल रुममा म भएपछि सबैको ज्यान बचाउने जिम्मेवारी मेरो थियो। म एक्लै भाग्न मिलेन,” साहले भने।
उनका अनुसार माथिल्लो ड्याममा दुर्घटना भएको सूचना पाएपछि उनले अन्य कामदारलाई तत्काल बाहिर निस्कन भनेका थिए। सबैलाई सुरक्षित निकाल्ने प्रयास गर्दागर्दै आफूलाई निस्कने समय नपुगेको र सुरुङभित्रै फसेको उनले बताए।
सुरुङभित्र अझै कति जना फसेका छन् भन्ने यकिन नभएको साहको भनाइ छ। आफ्नो सम्पर्कमा रहेका चारदेखि पाँच जना अझै भित्रै रहेको हुनसक्ने र पावरहाउस क्षेत्रमा पनि मानिस फसेको हुनसक्ने उनले बताएका छन्।
“सुरुङ लामो छ। सबै भाग्न नसकेको हुन सक्छ,” उनले भने।
दश दिनसम्म सुरुङभित्र कसरी बसेको भन्ने प्रश्नमा साहले आफू भगवानको महामन्त्र जप गर्दै बसेको बताएका छन्।
उद्धारपछि सुरक्षाकर्मीसँगको कुराकानीमा उनले सबैभन्दा पहिले “आज कति गते हो?” भनेर सोधेका थिए। सुरक्षाकर्मीले “१९ गते” भनेर जवाफ दिएका थिए।
सुरुङभित्र अन्य व्यक्ति फसेको आशंकामा खोज तथा उद्धार कार्य जारी छ।





