फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

ड्रागन मिडिया सम्वाददाता
पोखरा महानगरपालिका–१८ गैरीचौतारास्थित फेवातालमा भारतीय नम्बरको कार खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा भारत घर भएका २६ वर्षीय नवदीप कुमार यादव र २६ वर्षीय प्रियान्सु पाण्डे रहेका छन्। सशस्त्र प्रहरीका गोताखोरले उनीहरूलाई अचेत अवस्थामा तालबाट बाहिर निकालेका थिए।
उद्धारपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा बिहान ६ बजेर २० मिनेटमा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्।
पोखराको लेकसाइडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको कार अनियन्त्रित भई फेवातालमा खसेको थियो।
कारमा सवार भारत घर बताउने २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवलाई नेपाल प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि पोखरास्थित जीएमसी अस्पताल पुर्याएका छन्। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।
घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा गोताखोरसहितको टोली उद्धारका लागि परिचालन भएको थियो।





