माथिल्लो त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका कवीर महर्जनको अवस्था जटिल, सैनिक अस्पतालमा उपचार

ड्रागन मिडिया सम्वाददाता
माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका कवीर महर्जनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ। प्रधानमन्त्री सचिवालयका अनुसार महर्जनको स्वास्थ्य अवस्था जटिल रहेको छ।
शुक्रबार बिहान महर्जनसँगै सञ्जय साहको पनि जीवितै उद्धार गरिएको थियो। साहको अवस्था भने सामान्य रहेको जनाइएको छ। थप स्वास्थ्य परीक्षणका लागि उनलाई पनि काठमाडौं ल्याउने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
साहको उद्धार महर्जनभन्दा पहिले गरिएको थियो। स्वास्थ्यमा जटिलता देखिएपछि महर्जनलाई तत्काल काठमाडौं ल्याइएको हो।
उद्धारलगत्तै बोल्न सक्ने अवस्थामा रहेका साहले सुरुङभित्र अझै चारदेखि पाँच जना फसेको हुनसक्ने बताएका छन्। उनले सुरुङभित्र रहँदा महामन्त्र जप गर्दै समय बिताएको पनि बताएका छन्।
माथिल्लो त्रिशूली–३ ‘ए’ क्षेत्रमा बाढीपछि करिब ४२ जना फसेको अनुमान गरिएको छ। उनीहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र विज्ञसहितको टोली परिचालित छ।





