जसपा नेपालद्वारा चार प्रदेशसभा सदस्यसहित विभिन्न जनप्रतिनिधि निष्कासित

ड्रागन मिडिया सम्वाददाता
जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यसहित विभिन्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
ललितपुरको बालकुमारीमा भदौ १६ देखि १८ गतेसम्म बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत गतिविधि गरेको ठहर गर्दै उनीहरूमाथि अनुशासन कारवाही गर्ने निर्णय गरेको हो।
निष्कासनमा पर्ने लुम्बिनी प्रदेशसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, समानुपातिकतर्फ निर्वाचित हेमा वेल्वासे केसी, बाँके निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित आदेशकुमार अग्रवाल रहेका छन्।
पार्टीका अनुसार उनीहरूले पार्टीको नीति तथा निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्नुका साथै सरकारमा समेत सहभागी भएकाले कारवाही गरिएको हो।
जसपा नेपालले सिरहा, पर्सा, खोटाङ, भोजपुर, उदयपुर, इलाम र सुनसरीका विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा पार्टी सदस्यलाई पनि अनुशासन उल्लंघन गरेको भन्दै निष्कासन गर्ने निर्णय गरेको छ। कोशी प्रदेशमा समानुपातिकतर्फ निर्वाचित प्रदेशसभा सदस्य निर्मला तावासमेत कारवाहीमा परेकी छन्।
बैठकले गत प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत काम गर्ने जनप्रतिनिधि तथा कार्यकर्तामाथि पनि कारवाही गर्ने निर्णय गरेको छ।
यसैबीच, जसपा नेपालले रसुवागढीको भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। पार्टीले राहत, उद्धार तथा बाढीपीडितको व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग माग गर्दै प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ।
बैठकले ‘नेपालको वर्तमान राजनीतिक अवस्था र जसपा नेपालको रणनीतिक दिशा’ सम्बन्धी राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। पार्टीको केन्द्रीय समिति बैठक आगामी असोज १३, १४ र १५ गते काठमाडौंमा आयोजना गर्ने निर्णय पनि गरिएको छ।
संगठन सुदृढीकरण तथा कार्यकर्ता अभिमुखीकरणका लागि पश्चिम नवलपरासीमा भदौ २१ गते, रुपन्देहीमा भदौ २२ गते तथा कपिलवस्तु र दाङमा भदौ २३ गते जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना गर्ने निर्णय गरिएको छ।
बैठकले अग्रगामी मोर्चाको गठनलाई स्वागत तथा समर्थन गर्दै मोर्चाले घोषणा गर्ने कार्यक्रम सफल बनाउन पार्टीका सम्पूर्ण पङ्क्तिलाई सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ।





