२० भाद्र २०८३, शनिबार

रसुवा र नुवाकोटमा तत्काल ठूलो बाढीको जोखिम छैन : प्राधिकरण

ड्रागन मिडिया सम्वाददाता

रसुवा तथा नुवाकोट जिल्लामा हिमताल विस्फोटन भएर बाढी आउन सक्ने भन्दै फैलाइएका हल्ला तथा अफवाहमा सत्यता नरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्पष्ट पारेको छ।

प्राधिकरणले शुक्रबार साँझ जारी गरेको सूचनामा हिमताल फुटेर ठूलो बाढी आउन लागेको भन्दै सर्वसाधारणबाट अत्यधिक फोन तथा सोधपुछ आएपछि चिनियाँ समकक्षी निकायहरूसँग निरन्तर सम्पर्क र समन्वय गरी अवस्थाको अनुगमन गरिरहेको जनाएको छ।

हालसम्म प्राप्त आधिकारिक तथ्याङ्क तथा सूचनाका आधारमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको प्राधिकरणले स्पष्ट पारेको छ।

प्राधिकरणले पुष्टि नभएका, भ्रामक तथा काल्पनिक सूचना र हल्लाको पछि नलाग्न तथा त्रसित नभई संयमित रहन सर्वसाधारणलाई अपील गरेको छ।

कुनै अवस्थामा बाढीको वास्तविक जोखिम वा सम्भावना देखिएमा एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गर्ने व्यवस्था मिलाइएको पनि प्राधिकरणले जनाएको छ।

यससम्बन्धी थप आधिकारिक जानकारी वा अन्य विपदसम्बन्धी सोधपुछका लागि प्राधिकरणको टोल फ्री नम्बर ११५५ (२) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button