सिचाङद्वारा नेपाललाई दुई बेली ब्रिजसहित आपत्कालीन सहायता

ड्रागन मिडिया समाचार कक्ष
चीनको सिचाङ स्वायत्त क्षेत्रले नेपालका विपद प्रभावित क्षेत्रमा यातायात सम्पर्क पुनःस्थापना तथा उद्धार र राहत कार्यमा सहयोग पुर्याउन दुईवटा बेली ब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहित आपत्कालीन सहायता उपलब्ध गराएको छ।
सेप्टेम्बर ४ मा सिगात्सेको रिजी नाकामा आयोजित कार्यक्रममा उक्त सहायता औपचारिक रूपमा नेपाली पक्षलाई हस्तान्तरण गरिएको हो।

सहायता सामग्रीमा बेली ब्रिजका प्यानल, मजबुत सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ तथा आइ बिमलगायत विशेष उपकरण समावेश छन्। यी सामग्रीबाट दुईवटा बेली ब्रिज निर्माण गर्न सकिने जनाइएको छ।
बाढीपहिरोबाट प्रभावित नेपालका क्षेत्रमा क्षतिग्रस्त सडक तथा यातायात सम्पर्क पुनःस्थापना गर्न र उद्धार तथा राहत कार्यलाई सहज बनाउन ती पुल प्रयोग गरिनेछन्।

रिजी नाकामा सहायता सामग्रीसँगै राखिएको चिनियाँ र नेपाली भाषाको ब्यानरमा “साझा हिमाल, साझा नदी : सुखदुःखमा एकसाथ, सिचाङ नेपाललाई सहयोग गर्न अग्रसर” भन्ने सन्देश लेखिएको थियो। यसलाई विपदका बेला नेपाल र चीनबीचको पारस्परिक सहयोग र ऐक्यबद्धताको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।
सोही दिन ल्हासामा सिचाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालय र ल्हासास्थित नेपाली महावाणिज्य दूतावासबीच सहायता हस्तान्तरण कार्यक्रमसमेत आयोजना गरिएको थियो।

ल्हासास्थित नेपालका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाली पक्षका तर्फबाट सहायता हस्तान्तरणसम्बन्धी प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए।
नेपाली पक्षले विपदपछि चीनले देखाएको शीघ्र प्रतिक्रिया र सिचाङ स्वायत्त क्षेत्रबाट प्राप्त समयमैको सहयोगप्रति आभार व्यक्त गरेको छ। साझा हिमाल र नदीले जोडिएका नेपाल र सिचाङबीच कठिन समयमा एकअर्कालाई सहयोग गर्ने परम्पराको यो अर्को उदाहरण भएको नेपाली पक्षले जनाएको छ।
उक्त सहयोगलाई नेपाल र चीनबीच साझा भविष्यसहितको समुदाय निर्माण गर्ने अवधारणाको व्यावहारिक अभिव्यक्तिका रूपमा समेत प्रस्तुत गरिएको छ।





