भोटेकोशी बाढीपीडितका लागि चितवनका स्थानीय तहबाट आर्थिक तथा प्राविधिक सहयोग

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि चितवनका विभिन्न स्थानीय तहले आर्थिक, भौतिक तथा प्राविधिक सहयोगलाई तीव्र बनाएका छन्।
स्थानीय तहहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नुका साथै बाढीमा बेपत्ता भएकाको खोजी, शव व्यवस्थापन तथा उद्धार कार्यका लागि एम्बुलेन्स, शववाहन र अन्य साधनसमेत परिचालन गरेका छन्।
इच्छाकामना गाउँपालिकाले भोटेकोशी बाढीमा परी बेपत्ता भएका आफ्नो पालिकाका स्थायी बासिन्दाको खोजी तथा उद्धारका लागि जनही २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। हालसम्म गाउँपालिकाका चार जना बाढीमा बेपत्ता भएको जानकारी प्राप्त भएको छ।
गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा विपद व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको छ। खोज, उद्धार तथा शव व्यवस्थापनका लागि गाउँपालिकाका एम्बुलेन्स र शववाहन परिचालन गरिएको छ।
कालिका नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ। नगरपालिकाका अनुसार जनप्रतिनिधि तथा कर्मचारीबाट संकलित २६ लाख र नगरपालिकाको विपद कोषबाट नौ लाख रुपैयाँ गरी उक्त रकम उपलब्ध गराइएको हो।
माडी नगरपालिकाले ४३ लाख ९८ हजार २०६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको छ। नगरपालिकाको आपत्कालीन विपद व्यवस्थापन कोष, जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारीको तलब तथा सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीको सेवा सुविधा तथा तलबबाट उक्त रकम संकलन गरिएको हो।
खैरहनी नगरपालिकाले राहत तथा पुनःस्थापनाका लागि १५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ।
राप्ती नगरपालिकाले पनि आर्थिक सहयोग गर्ने तयारी गरेको छ। नगरपालिकाले बाढी आएदेखि नै एम्बुलेन्स, कृषि एम्बुलेन्स तथा अन्य साधन र उपकरण खोज, उद्धार तथा सहयोगमा परिचालन गर्दै आएको जनाएको छ।
यसअघि भरतपुर महानगरपालिकाले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एक करोड एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ। रत्ननगर नगरपालिकाले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३२ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
चितवनका स्थानीय तहले आर्थिक सहयोगसँगै प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार, शव व्यवस्थापन तथा अन्य आवश्यक कार्यमा समेत साधनस्रोत परिचालन गरिरहेका छन्।





