अवैध लागुऔषधसहित सात जिल्लाबाट २० जना पक्राउ
ड्रागन मिडिया सम्वाददाता
प्रहरीले मुलुकका विभिन्न सात जिल्लाबाट अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापा, बाँके, नवलपरासी पश्चिम, सुनसरी, कैलाली, सुर्खेत र सर्लाहीका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।
झापाको झापा गाउँपालिका–४ सुकुमबासी बस्तीबाट एक जना र दमक नगरपालिका–५ यलम्बर चोकबाट एक जना पक्राउ परेका छन्। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ गङ्गापुरबाट तीन जना तथा नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–४ जितपुरबाट एक जना पक्राउ परेका छन्।
त्यस्तै, सुनसरीको देवानगञ्ज गाउँपालिका–३ बाट एक जना, इटहरी उपमहानगरपालिका–२० बाट दुई जना र रामधुनी नगरपालिका–५ बसपार्कस्थित चाम्लिङ होटल एण्ड लजबाट दुई जना पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–८ कान्तिपुर टोलबाट तीन जना र धनगढी–७ मोतिचोकबाट एक जना पक्राउ परेका छन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनाबाट चार जना तथा सर्लाहीको लालबन्दी नगरपालिका–८ गुम्बाटोलबाट एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि अवैध लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।





