२० भाद्र २०८३, शनिबार

भोटेकोशी बाढीपीडितका लागि ४ करोड ९६ लाख डलर सहयोग जुटाउन राष्ट्रसङ्घको अपिल

ड्रागन मिडिया सम्वाददाता

संयुक्त राष्ट्रसङ्घले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकलाई जीवनरक्षक सहायता उपलब्ध गराउन ४ करोड ९६ लाख अमेरिकी डलर बराबरको सहयोग जुटाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ।

राष्ट्रसङ्घले शुक्रबार मानवीय सहायताका साझेदार निकाय तथा अन्तर्राष्ट्रिय दातृ समुदायलाई उक्त रकम उपलब्ध गराउन आग्रह गरेको हो। सहयोग रकम राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद शुरु हुनुअघिको चार महिने मानवीय सहायता योजनामा केन्द्रित गरिने नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयले जनाएको छ।

योजनाको मुख्य उद्देश्य उच्च हिमाली तथा दुर्गम क्षेत्रमा हिउँद शुरु हुनुअघि प्रभावित नागरिकलाई सुरक्षित आवास, स्वास्थ्य सेवा, सफा खानेपानी, नगद सहायता र आधारभूत ऊर्जा उपलब्ध गराउनु तथा सरुवा रोगको जोखिम न्यूनीकरण गर्नु रहेको छ।

संयुक्त राष्ट्रसङ्घ र मानवीय सहायताका साझेदार निकायहरू नेपाल सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यसँग समन्वय गरी काम गरिरहेको जनाइएको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा, नुवाकोट र धादिङका विभिन्न बस्ती प्रभावित तथा विस्थापित भएका छन्। सडक, पुल, विद्युत प्रणाली, खानेपानी तथा सरसफाइ संरचनामा व्यापक क्षति पुगेका कारण विकट क्षेत्रका नागरिक आधारभूत सेवाबाट समेत वञ्चित भएका छन्।

राष्ट्रसङ्घका अनुसार स्थानीय बजार सञ्चालनमा रहेका क्षेत्रमा प्रभावित परिवारलाई प्रत्यक्ष नगद सहायता उपलब्ध गराइनेछ। हिउँदअघि विस्थापित परिवारलाई जाडोबाट जोगाउन अस्थायी आवास तथा न्यानो सामग्री वितरण गरिनेछ भने विद्युत नपुगेका क्षेत्रमा सौर्य उपकरण उपलब्ध गराइनेछ।

योजनाअन्तर्गत क्षतिग्रस्त खानेपानी प्रणाली मर्मत, द्रुत पानी शुद्धीकरण प्रणाली जडान तथा सरसफाइ सामग्री वितरण गरिनेछ। यसबाट पानीजन्य रोगको जोखिम घटाउने लक्ष्य राखिएको छ।

घुम्ती स्वास्थ्य शिविरमार्फत तत्काल उपचार तथा पोषण सहयोग उपलब्ध गराइनेछ। परिवारबाट छुट्टिएका बालबालिकाको पहिचान र पुनर्मिलनका लागि संरक्षण समूह परिचालन गरिनेछ।

आकस्मिक खाद्य सहायता वितरणसँगै बाँचेका पशुधनको व्यवस्थापन र संरक्षणमार्फत ग्रामीण परिवारको जीविकोपार्जन जोगाउने कार्यक्रमसमेत योजनामा समावेश गरिएको छ।

नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र पहिरोले धेरै परिवारलाई केही क्षणमै आफन्त, घर र जीविकोपार्जनको आधारबाट वञ्चित बनाएको बताइन्।

उनले सरकारको नेतृत्वमा हिउँद शुरु हुनुअघि सबैभन्दा दुर्गम बस्तीसम्म ओत, उपचार, सफा पानी र नगद सहायता पुर्‍याउनु अपिलको मुख्य प्राथमिकता रहेको बताइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button