२० भाद्र २०८३, शनिबार

एआईले एशिया–प्रशान्तका साना तथा मझौला उद्योगलाई नयाँ अवसर दिँदै

ड्रागन मिडिया समाचार कक्ष

मलेसियाको सेङ फोङ होल्डिङ्स बेरहाडको उत्पादन लाइनमा ३५ किलोग्राम तौलको रबरको ब्लक समातिरहेको रोबोटिक हात अहिले कृत्रिम बुद्धिमत्ता, त्रिआयामिक क्यामेरा र लेजर स्क्यानरको सहायताले काम गरिरहेको छ। परम्परागत रूपमा श्रममा अत्यधिक निर्भर रबर प्रशोधन उद्योगमा यस्ता प्रविधिले उत्पादन प्रक्रियामा महत्वपूर्ण परिवर्तन ल्याउन थालेका छन्।

चीनको दक्षिणी क्वाङतोङ प्रान्तस्थित एक कृत्रिम बुद्धिमत्ता कम्पनीले विकास गरेको प्रणालीले सुकाउने भट्टीबाट निस्कने आकारमा फरक पर्ने रबरका ब्लकसमेत पहिचान र व्यवस्थापन गर्न सक्छ। मलेसियाली कम्पनीका अध्यक्षका अनुसार यस प्रणालीले श्रम लागत २० देखि ३० प्रतिशतसम्म घटाउनुका साथै व्यवस्थापन क्षमता पनि सुधार गरेको छ।

यो उदाहरण एशिया–प्रशान्त क्षेत्रमा भइरहेको व्यापक परिवर्तनको एउटा संकेत हो। कृत्रिम बुद्धिमत्ता र अन्य उदीयमान प्रविधिले साना तथा मझौला उद्यमलाई नवीनता अपनाउने नयाँ अवसर दिइरहेका छन् भने क्षेत्रीय सम्पर्क र सहकार्यले ती प्रविधिलाई आर्थिक वृद्धिका नयाँ आधारमा रूपान्तरण गर्न सहयोग गरिरहेको छ।

क्वाङतोङको राजधानी क्वाङचौमा शुक्रबार सम्पन्न एशिया–प्रशान्त आर्थिक सहयोग संगठन (एपेक) का साना तथा मझौला उद्यमसम्बन्धी ३२औँ मन्त्रीस्तरीय बैठकमा यही विषय प्रमुख रूपमा उठाइएको थियो। एपेक सदस्य अर्थतन्त्रका प्रतिनिधिहरूले प्रविधिगत नवीनतामार्फत साना तथा मझौला उद्यमलाई कसरी सशक्त बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए।

एपेक क्षेत्रको अर्थतन्त्रमा साना तथा मझौला उद्यमको महत्वपूर्ण भूमिका छ। तर तीव्र औद्योगिक रूपान्तरण, विश्व आपूर्ति श्रृंखलामा भइरहेको परिवर्तन र नयाँ प्रविधिको विकासले उनीहरूका लागि अवसरसँगै चुनौती पनि सिर्जना गरेको छ।

शेन्चेनस्थित एआई स्टार्टअप एक्स स्क्वायर रोबोटकी सहसंस्थापक तथा प्रमुख सञ्चालन अधिकृत याङ छियानले कृत्रिम बुद्धिमत्तायुक्त रोबोटिक्सले साना तथा मझौला उद्यमको डिजिटल रूपान्तरणका लागि नयाँ बाटो खोलेको बताइन्। खुला श्रोत प्रविधिले प्रविधि प्रयोगको लागत र प्रवेश अवरोध घटाउँदै धेरै उद्यमलाई नवीनतामा सहभागी हुन सक्षम बनाएको उनको भनाइ छ।

“पहिले छ महिना, महँगो कम्प्युटिङ क्षमता र व्यावसायिक टोली आवश्यक पर्ने काम अहिले एउटा कार्यस्थल र एउटा विचारका आधारमा तीन दिनमै गर्न सकिन्छ,” उनले भनिन्। “यसले पहिलो पटक साना तथा मझौला उद्यमलाई ठूला उद्योगसँग नवीनतामा तुलनात्मक रूपमा समान अवसर दिएको छ।”

तर उच्च डिजिटल रूपान्तरण लागत र दक्ष जनशक्तिको अभाव अझै पनि क्षेत्रका धेरै साना तथा मझौला उद्यमका प्रमुख चुनौती हुन्। यही कारण क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

विश्व ओकेटीए बेइजिङ च्याप्टरका उपाध्यक्ष क्वोन जोङ ह्युनले चीनको मुख्य शक्ति ठूलो उत्पादन क्षमता र तीव्र कार्यान्वयनमा रहेको बताए भने दक्षिण कोरियाको विशेषता उच्च परिशुद्धता र विश्वसनीयता भएको उल्लेख गरे। उनका अनुसार दुई देशका पूरक क्षमतालाई जोड्दा सहकार्यको परिणाम सामान्य जोडभन्दा धेरै गुणा प्रभावकारी हुन सक्छ।

चीनले साना तथा मझौला उद्यममा एआई उद्यमशीलता प्रवर्द्धन गर्न सन् २०२६ देखि २०२८ सम्मको कार्ययोजना पनि सार्वजनिक गरेको छ। उद्योग तथा सूचना प्रविधि मन्त्रालयको योजनाअनुसार १० हजारभन्दा बढी प्रविधिमा आधारित र नवीन साना तथा मझौला उद्यम, दुई हजारभन्दा बढी विशेषीकृत ‘लिटिल जायन्ट’ कम्पनी तथा केही तीव्र वृद्धि गर्ने गजेल कम्पनी र युनिकर्न विकास गर्ने लक्ष्य राखिएको छ।

चीनले घरेलु कार्यक्रमसँगै अन्तर्राष्ट्रिय स्तरमा पनि एआई सहकार्य विस्तार गरिरहेको जनाएको छ। आगामी पाँच वर्षमा विकासशील मुलुकका लागि पाँच हजार एआई तालिम तथा गोष्ठी अवसर उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ।

चीनले आसियान मुलुकसँग एआई प्रयोग सहकार्य केन्द्र स्थापना गर्ने प्रक्रिया पनि अघि बढाएको छ। लाओस, मलेसिया र भियतनाममा यसका विदेशी शाखा सञ्चालनमा आइसकेका छन्। ती केन्द्रले ठूला एआई मोडेल, तथ्याङ्क उद्योग र स्मार्ट कृषि क्षेत्रमा सीमापार सहकार्यलाई प्रवर्द्धन गरिरहेका छन्।

चिनियाँ उपप्रधानमन्त्री चाङ क्वोछिङले मन्त्रीस्तरीय बैठकको उद्घाटन समारोहमा चीन सबै पक्षसँग मिलेर थप साना तथा मझौला उद्यमलाई विकास र विस्तार गर्न सहयोग गर्न तयार रहेको बताए।

उनका अनुसार चीनले साना तथा मझौला उद्यमका लागि नीतिगत समर्थन थप सुदृढ गर्दै एपेक सदस्य अर्थतन्त्रसँग व्यावहारिक सहकार्य विस्तार गरी उच्च गुणस्तरीय विकासलाई संयुक्त रूपमा अघि बढाउनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button