२० भाद्र २०८३, शनिबार

बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार, प्रधानमन्त्री शाहद्वारा उद्धारकर्मीको प्रशंसा

ड्रागन मिडिया सम्वाददाता

बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले श्रेष्ठको सकुशल उद्धारले सिङ्गो देशलाई आशा दिएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले श्रेष्ठलाई जीवितै उद्धार गरेको जानकारी दिएका हुन्। उनले खोज तथा उद्धार कार्यमा सरकार अझै दृढतापूर्वक लागिरहेको उल्लेख गरे।

यसअघि पनि प्रभावित क्षेत्रबाट ज्येष्ठ नागरिकको उद्धार गरिएको स्मरण गर्दै प्रधानमन्त्रीले विपदको कठिन अवस्थामा नातिनातिना च्यापेर ज्यान जोगाउन सफल भएका ज्येष्ठ नागरिकको अदम्य साहसको प्रशंसा गरे।

भोटेकोशीको बाढीबाट जनधन, घरबारी तथा परिवारका सदस्य गुमाएका ज्येष्ठ नागरिकको पीडालाई सरकारले गहिरोसँग महसुस गरेको उनले बताए। बाढीका कारण विस्थापित वृद्धवृद्धालाई एक्लो नठान्न आग्रह गर्दै राज्य सधैँ उनीहरूको साथमा रहने उनले स्पष्ट पारे।

प्रधानमन्त्रीका अनुसार प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकलाई अस्थायी शिविर तथा होल्डिङ सेन्टरमा राहत, स्वास्थ्य सेवा र आवासको व्यवस्था मिलाइएको छ।

बाढीबाट क्षतिग्रस्त नुवाकोटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका ज्येष्ठ नागरिकमध्ये सात जनालाई काठमाडौँको म्हैपीस्थित नेपाल सिनियर केयर र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको उनले जानकारी दिए।

आश्रयस्थलमा ह्वीलचियर, वाकर तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको छ। अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर सुरक्षित स्थायी बसोबासको व्यवस्था छिट्टै मिलाइने प्रधानमन्त्रीले बताएका छन्।

उनले आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीको मनोबल उच्च राख्नु सबैको कर्तव्य भएको उल्लेख गरे।

आफन्त गुमाएर पीडामा रहेका नागरिकको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्ने भन्दै प्रधानमन्त्री शाहले यस संवेदनशील अवस्थामा पीडितमाथि अनावश्यक टिप्पणी गर्ने वा हियाउने कार्यविरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनीसमेत दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button