रसुवाका जलविद्युत आयोजनामा कार्यरत ४७ भन्दा बढी कर्मचारी अझै बेपत्ता

ड्रागन मिडिया सम्वाददाता
रसुवा तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण नेपाल विद्युत प्राधिकरणअन्तर्गत सञ्चालित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजना, त्रिशूली ३ ‘बी’ हब तथा त्रिशूली र देवीघाट जलविद्युत केन्द्रमा कार्यरत ४७ भन्दा बढी कर्मचारी अझै बेपत्ता रहेका छन्।
बाढीले आयोजना क्षेत्रका संरचना, सुरुङ, पावरहाउस तथा कार्यस्थलमा ठूलो क्षति पुर्याएपछि त्यहाँ कार्यरत प्राविधिक, प्रशासनिक, सुरक्षाकर्मी तथा अन्य कर्मचारी सम्पर्कविहीन भएका हुन्।
नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बेपत्ता हुनेमा सहायक प्रबन्धक विनोदप्रसाद पाण्डे, इञ्जिनियरहरू दिलीप यादव, राजेन्द्र ढकाल, महेन्द्रविक्रम शाही र निरञ्जन पंगेनी तथा सहायक इञ्जिनियर सन्तशकुमार ठाकुर रहेका छन्।
यसैगरी इन्द्र अधिकारी, ओमप्रकाश चौधरी, तिलबहादुर रानालगायत विभिन्न तहमा कार्यरत कर्मचारी पनि बेपत्ता सूचीमा छन्। सुपरभाइजर, फोरम्यान, मेकानिकल तथा इलेक्ट्रिकल मिस्त्री, चालक, सुरक्षा गार्ड, सेवा करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीसमेत बाढीको चपेटामा परेका छन्।
बेपत्ता कर्मचारीहरू बैतडी, पर्सा, सिन्धुली, जाजरकोट, महोत्तरी, रुपन्देही, सप्तरी, नुवाकोट, दोलखा, कपिलवस्तु, पाल्पा, स्याङ्जा, काभ्रे र भक्तपुरलगायत देशका विभिन्न जिल्लाका बासिन्दा रहेको प्राधिकरणले जनाएको छ।
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा प्राविधिक टोलीले सुरुङ, पावरहाउस र आयोजना क्षेत्र वरपर खोज तथा उद्धार कार्य जारी राखेका छन्।
ठूलो परिमाणमा थुप्रिएको लेदो, ढुंगा र पहिरोका कारण खोजी कार्य अत्यन्त कठिन बनेको छ। विभिन्न प्राविधिक उपकरण प्रयोग गरी सुरुङभित्र फसेका हुनसक्ने कर्मचारीको अवस्था पत्ता लगाउने प्रयास भइरहेको छ।
बेपत्ता कर्मचारीको पहिचान सहज बनाउन नेपाल विद्युत प्राधिकरणले उनीहरूका निकटतम परिवारजनलाई नेपाल प्रहरी अस्पताल वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन अनुरोध गरेको छ।





