२० भाद्र २०८३, शनिबार

बेपत्ता नौ दक्षिण कोरियालीको खोज तथा उद्धारबारे छलफल गर्न विदेशमन्त्री छो ह्यान नेपालमा

ड्रागन मिडिया सम्वाददाता

दक्षिण कोरियाका विदेशमन्त्री छो ह्यान तीनदिने औपचारिक भ्रमणका क्रममा शनिबार नेपाल आइपुगेका छन्।

नेपाल भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा गत अगस्ट २६ मा रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोपछि बेपत्ता भएका दक्षिण कोरियाली नागरिकको खोज तथा उद्धारका लागि नेपालले गरिरहेको प्रयासबारे छलफल हुने बताइएको छ।

रसुवाको विपदमा जलविद्युत आयोजना निर्माणस्थलमा कार्यरत नौ दक्षिण कोरियाली नागरिक बेपत्ता भएका थिए। तीमध्ये छ जना दोसान एनर्बिलिटी र तीन जना कोरिया साउथ–इस्ट पावर कम्पनीका कर्मचारी रहेको जनाइएको छ।

विदेशमन्त्री छोले बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग र समन्वयका विषयमा नेपाली पक्षसँग छलफल गर्ने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा उनले बेपत्ता दक्षिण कोरियाली नागरिकका परिवारसँग समेत भेट गर्ने कार्यक्रम छ। साथै, बाढी तथा पहिरो प्रभावित क्षेत्रको राहत, उद्धार र पुनःस्थापनाका प्रयासबारे पनि नेपाली पक्षसँग जानकारी लिने बताइएको छ।

दुई पक्षबीच नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, पारस्परिक सहयोग तथा विपदका समयमा समन्वय थप सुदृढ बनाउने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

दक्षिण कोरियाली विदेशमन्त्रीको भ्रमणलाई विपदमा बेपत्ता आफ्ना नागरिकको खोजीप्रति सियोलले दिएको उच्च प्राथमिकता तथा नेपालसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button