२१ भाद्र २०८३, आईतवार

भोटेकोशी बाढीको ११औँ दिन सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार, पाँच जलविद्युत आयोजनामा खोजी जारी

ड्रागन मिडिया सम्वाददाता

भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाको सुरुङ तथा विद्युत गृह क्षेत्रमा फसेकाको खोज तथा उद्धार कार्य शनिबार पनि निरन्तर रह्यो। यसक्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङभित्रबाट एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, आयोजना सम्बद्ध प्राविधिक तथा स्वदेशी र विदेशी विज्ञसहितको संयुक्त टोलीले रसुवागढी, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे र माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा खोज तथा उद्धार जारी राखेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको हाकुस्थित सुरुङमा करिब २५० मिटरभित्र फसेका चिनियाँ नागरिक लु हाइताओलाई विदेशीसहितको संयुक्त उद्धार टोलीले शनिबार जीवितै बाहिर निकालेको सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए। सोही क्षेत्रबाट थप दुई शव पनि निकालिएको छ। सुरुङभित्र जमेको लेदो हटाउँदै खोज तथा उद्धारलाई निरन्तरता दिइएको छ।

रसुवागढी जलविद्युत आयोजनामा खटिएको संयुक्त उद्धार टोली विद्युत गृहको छैटौँ तलासम्म पुगेर खोजी गरेको छ। त्यहाँ तत्काल केही फेला नपरे पनि पाँचौँ तलासम्म ठूलो परिमाणमा लेदो भरिएकाले त्यसलाई हटाउँदै थप खोजी भइरहेको सेनाले जनाएको छ।

त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाको खोजीका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरीका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालित छ। टोलीले सुरुङ क्षेत्रमा रहेका अवरोध हटाउँदै उद्धार कार्य तीव्र बनाएको छ।

त्रिशूली–३ ‘बी’मा सेनाका ८९ जना, तीन गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोली खोज तथा उद्धारमा खटिएको छ। तीन साना डोजर र जेनेरेटर प्रयोग गरी काम भइरहेको छ। टोलीले अडिट–२ सुरुङबाट एक्साभेटर लैजान सक्ने गरी बाटोसमेत सफा गरेको छ।

चिलिमे जलविद्युत आयोजनामा विदेशी विज्ञसहितको संयुक्त टोलीले मिनी एक्साभेटर र पम्पको सहायताले लेदो हटाउँदै करिब १०५ मिटर भित्रसम्म खोजी गरेको छ। त्यसभन्दा भित्री क्षेत्रमा प्रवेश गर्न आवश्यक बाटो खुलाउने काम भइरहेको छ।

यसैबीच, सेनाको इञ्जिनियरिङ फौजले बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित ताँदी नदीमा एक्रो ब्रिज जडान गरिरहेको छ। पुल जडानका लागि ५५ सैनिक परिचालन गरिएको छ।

बाढी प्रभावित मैलुङदेखि स्याफ्रूबेंसीसम्मका क्षेत्रमा पैदल गस्तीमार्फत खोज तथा उद्धारलाई पनि निरन्तरता दिइएको छ। सैनिक हेलिकप्टरबाट शनिबार दुई विदेशीसहित ३९ जनाको उद्धार गरिएको छ। हालसम्म सेनाले हवाई साधनमार्फत २७५ विदेशीसहित तीन हजार ९९७ जनाको उद्धार गरेको जनाएको छ।

सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्ती टोलीमार्फत शनिबार ३१ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ। हालसम्म तीन हजार २९७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका बाढी प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दा बढी सैनिक परिचालित छन्। उनीहरू खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यमा खटिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button