भोटेकोशी बाढीले ५५ खानेपानी आयोजना प्रभावित, करिब ६४ करोड क्षतिको अनुमान
ड्रागन मिडिया सम्वाददाता
रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार ती आयोजनामा करिब रु ६४ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट सबैभन्दा बढी नुवाकोटका २२ वटा खानेपानी आयोजना प्रभावित भएका छन्। ती आयोजनामा मात्रै रु चार करोड ११ लाख ५० हजार बराबरको क्षति भएको विभागले जनाएको छ।
विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार धादिङका २०, रसुवाका आठ र गोरखाका पाँचवटा खानेपानी आयोजनामा क्षति पुगेको छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य अझै जारी रहेकाले कुल क्षतिको परिमाण थप बढ्न सक्ने विभागले जनाएको छ।
खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा तत्काल आपूर्ति सुचारु गर्न विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक श्रोतको प्रयोग, क्षतिग्रस्त संरचनाको मर्मत र सेवा पुनः सञ्चालनलाई प्राथमिकता दिइएको महानिर्देशक श्रेष्ठले बताए।
विशेषगरी विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानी वितरण सहज बनाउन १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ। उक्त जेनेरेटरको प्रयोगबाट दैनिक करिब पाँच लाख लिटर खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ।
त्यस्तै, एक एचपी क्षमताका सातवटा पम्प सञ्चालनमा ल्याएर बट्टार क्षेत्रका करिब ५०० घरपरिवारमा खानेपानी सेवा पुनः सञ्चालन गरिएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँगको समन्वयमा भदौ १२ गतेदेखि चारवटा ट्याङ्करमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा खानेपानी वितरण भइरहेको छ।
बाढी प्रभावित त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका बाँकी क्षेत्रमा समेत खानेपानी सेवा विस्तार गर्न आवश्यक सामग्री तयारी अवस्थामा राखिएको विभागले जनाएको छ।
सेवा विस्तारका लागि दुई एचपी र एक एचपी क्षमताका गरी कुल १४ वटा पम्प, एक हजार लिटर क्षमताको पानी ट्याङ्की तथा करिब ४१.१ किलोमिटर एचडीपीई पाइप व्यवस्थापन गरिएको छ। ती सामग्री प्रभावित क्षेत्रमा ढुवानी र जडान गरी खानेपानी आपूर्ति विस्तार गर्ने तयारी भइरहेको छ।
बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापना र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको विभागले जनाएको छ।
बाढीपछि खानेपानीको अभाव हुन नदिन तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको कामसमेत अघि बढाइएको छ। क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ।





