काङ्दिङमा चौथो मिन्याक संस्कृति तथा लोकपरम्परा सप्ताह आयोजना

ड्रागन मिडिया समाचार कक्ष
चीनको काङ्दिङ शहरमा सन् २०२६ को चौथो मिन्याक संस्कृति तथा लोकपरम्परा सप्ताह सेप्टेम्बर ४ देखि ९ तारिखसम्म आयोजना भइरहेको छ। ल्हागाङ टाउन चिनियाँ कम्युनिष्ट पार्टी समिति र ल्हागाङ टाउन जनसरकारको मुख्य आयोजनामा कार्यक्रम दोरा कार्मो पर्यटकीय क्षेत्रमा सञ्चालन भइरहेको छ।
काङ्दिङ शहरको दोरा कार्मो पर्यटन तथा संस्कृति लिमिटेड कम्पनीले व्यवस्थापन गरेको यस सप्ताहको उद्देश्य मिन्याक समुदायको मौलिक लोकसंस्कृति, परम्परागत जीवनशैली र पठारी क्षेत्रको विशिष्ट सांस्कृतिक पहिचानलाई प्रत्यक्ष अनुभवमार्फत प्रस्तुत गर्नु रहेको छ।



कार्यक्रमअन्तर्गत परम्परागत घोडादौड तथा घोडाको चालसम्बन्धी प्रतियोगिता, मिन्याक समुदायको परम्परागत पोशाकमा घोडचढी कला प्रदर्शन तथा राजा गेसारसँग सम्बन्धित अमूर्त सांस्कृतिक सम्पदाको प्रदर्शनी र प्रस्तुति समावेश गरिएको छ।
त्यस्तै, मिन्याक लोककथा भेला, तिब्बती ओपेरा प्रस्तुति, विभिन्न गाउँका लोककला तथा सांस्कृतिक कार्यक्रम, मिन्याक युवा सांगीतिक भेला र परम्परागत गीत तथा नृत्य प्रदर्शनसमेत आयोजना गरिएको छ।
सप्ताहमा स्थानीय उत्पादन र परम्परागत जीवनपद्धतिसँग सम्बन्धित गतिविधिलाई पनि विशेष स्थान दिइएको छ। दूध दुहुने सीप प्रतियोगिता, ऊन कात्ने तथा बुन्ने प्रतियोगिता, स्थानीय परिकारको स्वाद अनुभव तथा मिन्याक संस्कृति र कलासम्बन्धी प्रदर्शनी अवलोकन कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्।
आयोजकका अनुसार विविध कार्यक्रममार्फत मिन्याक समुदायको सांस्कृतिक सम्पदा संरक्षण र प्रचार गर्नुका साथै पर्यटकलाई स्थानीय संस्कृति, कला, जीवनशैली र परम्परासँग प्रत्यक्ष रूपमा परिचित गराउने लक्ष्य राखिएको छ। हिमाली तथा पठारी क्षेत्रको विशिष्ट सांस्कृतिक वातावरणसँग जोडिएको यो सप्ताह काङ्दिङको सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा आयोजना गरिएको हो।





