विपदको ११औँ दिन सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार, राजदूत चाङले अस्पताल पुगेर भेटे

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशी बाढी तथा लेदोसहितको विनाशकारी बहावबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका एक चिनियाँ नागरिकलाई विपदको ११औँ दिन जीवितै उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाली विपद उद्धार विज्ञसहितको संयुक्त टोलीले शनिबार चिनियाँ नागरिक लु हाइताओलाई आयोजनाको करिब २२५ मिटर लामो सुरुङभित्रबाट जीवितै बाहिर निकालेको हो। उद्धारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण गरी उनलाई हेलिकप्टरमार्फत काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइएको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार नेपालस्थित चिनियाँ दूतावासले लुको उद्धार भएको पुष्टि गरेको छ। उद्धारपछि नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित दूतावासको टोली अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो।
लुले अस्पतालमा उद्धारको प्रतीक्षा गर्दाको अनुभव सुनाउँदै सुरुङबाहिरबाट पटकपटक प्रकाश देख्दा आफूले उद्धारकर्तासम्म आवाज पुर्याउने प्रयास गरेको बताएका छन्। उनले प्रकाश देख्नेबित्तिकै ठूलो स्वरमा कराए पनि दूरीका कारण उद्धारकर्ताले आवाज नसुनेको हुन सक्ने बताए।
उद्धार टोली अन्ततः नजिक आइपुग्दा प्रकाश आफ्नै अगाडि देखिएपछि आफूले उद्धार हुने कुरा तत्काल विश्वास गर्नसमेत नसकेको उनको भनाइ छ। उनले आफ्नो उद्धारलाई चमत्कारको संज्ञा दिँदै उद्धारमा संलग्न सबैप्रति आभार व्यक्त गरेका छन्।
चिनियाँ राजदूत चाङले लुको जीवित उद्धारले आफूहरूलाई अत्यन्त उत्साहित बनाएको बताएका छन्। उनले यस घटनाले नेपालमा रहेका चिनियाँ नागरिकको उद्धार तथा सुरक्षाका लागि थप प्रभावकारी काम गर्ने विश्वास बढाएको उल्लेख गर्दै चिनियाँ दूतावासले नेपाली पक्षसँग निकट समन्वय जारी राख्ने बताएका छन्।
यसअघि शुक्रबार त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र करिब १० दिनदेखि फसेका दुई नेपाली कामदारलाई पनि जीवितै उद्धार गरिएको थियो। लगातार दुई दिनमा तीन जनाको जीवित उद्धार भएपछि प्रभावित जलविद्युत आयोजनाका विभिन्न सुरुङमा फसेकाहरूलाई जीवितै भेट्ने आशा बढेको छ।
भदौ १० गते अर्थात अगस्ट २६ मा नेपालको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडामा करिब पाँच हजार २०० मिटर उचाइबाट हिम तथा चट्टानको ठूलो हिस्सा खसेपछि त्यसले हिमपहिरो र लेदोसहितको विशाल बहावको रूप लिएको प्रारम्भिक वैज्ञानिक अध्ययनले देखाएको छ। बहावले भोटेकोशी र त्रिशूली नदी करिडोरसँगै नेपाल–चीन सीमाक्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ।
शुक्रबारसम्म नेपालतर्फ कम्तीमा एक हजार ३४४ जनाको मृत्यु पुष्टि भएको र चार हजार ८८७ जना बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ। चीनको सिचाङ स्वायत्त क्षेत्रअन्तर्गत केरुङ क्षेत्रमा भने ३१ जनाको मृत्यु पुष्टि भएको र ५३१ जना अझै बेपत्ता रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।





