२१ भाद्र २०८३, आईतवार

पूर्वी चीनको च्याङ्सीमा पहिरो, एक जनाको मृत्यु, ११ बेपत्ता

ड्रागन मिडिया समाचार कक्ष

पूर्वी चीनको च्याङ्सी प्रान्तको चिआन शहरअन्तर्गत सुइछ्वान काउन्टीको एउटा गाउँमा शनिबार बिहान गएको पहिरोमा एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।

स्थानीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार टाइफुन साउडेलका कारण लगातार परेको मुसलधारे वर्षापछि शनिबार बिहान करिब ४ बजे पहिरो गएको हो। घटनास्थलबाट दुई जनाको जीवितै उद्धार गरिएको छ र उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ।

बेपत्ताको खोजी तथा उद्धारका लागि ६४० भन्दा बढी उद्धारकर्मी घटनास्थलमा परिचालन गरिएको छ। पहिरोले गाउँतर्फ जाने सडक क्षतिग्रस्त बनाएपछि जीवन पहिचान गर्ने उपकरण, ड्रोन र खोजी कुकुरसहितको पहिलो अग्नि उद्धार टोली पहाडी क्षेत्र घुमेर शनिबार बिहान ११ बजे प्रभावित क्षेत्रमा पुगेको थियो।

हालसम्म प्रभावित गाउँका ३९ जनालाई सुरक्षित स्थानमा सारिएको छ। सम्भावित थप पहिरो तथा अन्य विपदको जोखिमलाई ध्यानमा राख्दै आसपासका क्षेत्रबाट पाँच हजार ३०० भन्दा बढी मानिसलाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

पहिरोका कारण अवरुद्ध सडक र विद्युत लाइन मर्मतको काम जारी रहेको छ भने दूरसञ्चार सेवा पुनःस्थापना गरिएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

टाइफुन साउडेलका कारण च्याङ्सी प्रान्तमा करिब एक लाख ६१ हजार ५०० मानिस प्रभावित भएपछि प्रान्तीय विपद रोकथाम, न्यूनीकरण तथा राहत समितिले शनिबार मध्याह्न तेस्रो तहको प्रान्तीय आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ।

चीनको प्राकृतिक श्रोत मन्त्रालयले पनि च्याङ्सीका लागि भूगर्भीय विपदसम्बन्धी आपत्कालीन प्रतिक्रिया चौथो तहबाट बढाएर तेस्रो तहमा पुर्‍याएको छ। उद्धार तथा जोखिम मूल्याङ्कनमा सहयोग गर्न मन्त्रालयले घटनास्थलमा कार्यदल पठाएको छ।

चीनको राष्ट्रिय विपद न्यूनीकरण आयोग र आपत्कालीन व्यवस्थापन मन्त्रालयले प्राकृतिक विपद राहतका लागि चौथो तहको राष्ट्रिय आपत्कालीन प्रतिक्रिया सक्रिय गर्दै उद्धार कार्यमा सहयोगका लागि कार्यदल र आपत्कालीन सर्वेक्षण टोली परिचालन गरेका छन्। टोलीले सम्भावित थप पहिरोको अनुगमन गर्न स्लोप राडारलगायत उपकरणसमेत प्रयोग गरिरहेको छ।

यसैबीच, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले च्याङ्सीमा आपत्कालीन उद्धार र विपद राहतका लागि केन्द्रीय प्राकृतिक विपद राहत कोषबाट दुई करोड युआन विनियोजन गरेको छ।

उक्त रकम क्षतिग्रस्त सडक, जलसंरक्षण पूर्वाधार तथा विद्यालय र अस्पताललगायत सार्वजनिक सेवा संरचनाको पुनर्निर्माणमा प्रयोग गरिनेछ। प्रभावित क्षेत्रमा जनजीवन र उत्पादन गतिविधि यथाशीघ्र सामान्य अवस्थामा फर्काउने उद्देश्यले पुनःस्थापना कार्यलाई तीव्रता दिइएको छ।

चीनमा चार तहको आपत्कालीन प्रतिक्रिया प्रणाली रहेको छ, जसमा पहिलो तह सबैभन्दा गम्भीर अवस्था जनाउने स्तर हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button