भोटेकोशी बाढीले रसुवामा व्यापक क्षति, तीन हजार ७१ जना अझै सम्पर्कविहीन

ड्रागन मिडिया सम्वाददाता
नेपाल–चीन सीमाक्षेत्र हुँदै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवामा ठूलो जनधन तथा भौतिक क्षति भएको छ। हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन हजार ७१ जना अझै सम्पर्कविहीन रहेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार उद्धार गरिएकामध्ये एक हजार २२७ नेपाली र ८६ विदेशी पर्यटक रहेका छन्। बाढीका कारण अलपत्र परेका तथा गोसाइँकुण्ड क्षेत्रमा रोकिएका १४५ तीर्थयात्री र स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट तथा काठमाडौँतर्फ सुरक्षित स्थानान्तरण गरिएको छ। सडक सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रमा राहत तथा उद्धारका लागि हेलिकप्टर प्रयोग भइरहेको छ।
सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, स्थानीय बासिन्दा, अन्य जिल्लाका नागरिक र विदेशी पर्यटकसमेत छन्। श्रीनाथ गण तथा ब्राबल ब्यारेकअन्तर्गतका २७ नेपाली सेना, २८ नेपाल प्रहरी, १३ सशस्त्र प्रहरी, ७९ सरकारी कर्मचारी र २६ बैंक तथा वित्तीय संस्थाका कर्मचारी सम्पर्कबाहिर छन्। त्यसैगरी रसुवाका एक हजार ३७०, अन्य जिल्लाका एक हजार २६२ र २६६ विदेशी पर्यटक सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ।
विपदका क्रममा फेला परेका शवको पहिचान तथा डीएनए परीक्षणको प्रक्रिया पनि जारी छ। उत्तरगया–५ का जनक आचार्य, गङ्गादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ र आशिष बानियाँ तथा गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङको शव पहिचान गरी आफन्तलाई बुझाइएको छ। अन्य स्थानमा फेला परेका शवको समेत सनाखत तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
बाढीपहिरोले रसुवाको भौतिक पूर्वाधारमा पनि व्यापक क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार एक हजार ५०० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै २८ सरकारी तथा सार्वजनिक निकाय, आठ सामुदायिक विद्यालय, तीन निजी विद्यालय र १४ बैंकका भवनमा क्षति पुगेको छ।
जिल्लाको प्रमुख यातायात आधारका रूपमा रहेको करिब ४१ किलोमिटर राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएको छ। छवटा पक्की मोटरेबल पुल, आठवटा ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० वटा झोलुङ्गे पुल बाढीले बगाएको वा क्षतिग्रस्त बनाएको छ। जिल्लाका आठवटा जलविद्युत आयोजनामा समेत ठूलो क्षति पुगेको छ।
विपदका कारण थातथलोबाट विस्थापित भएका सात हजार ३३ नागरिकलाई जिल्लाका १२ सुरक्षित आश्रयस्थलमा राखिएको छ। धुन्चेस्थित सिटी सेन्टर, कोमिन श्यामे वाङ्फेल मावि र गणेश आधारभूत विद्यालयलगायत स्थानमा आश्रित नागरिकका लागि गाँसबासको व्यवस्था गरिएको छ। प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिएको प्रशासनले जनाएको छ।
विपदका बीच जिल्लाको करिब ८३ प्रतिशत क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन गरिएको छ भने नेपाल टेलिकमको सञ्चार सेवा सम्पूर्ण क्षेत्रमा पुनःस्थापना गरिएको छ। यसले उद्धार, राहत तथा समन्वय कार्यलाई सहज बनाएको जनाइएको छ।





