नुवाकोटका बाढी प्रभावित राहत शिविरमा सुविसुको निःशुल्क वाई-फाई सेवा

ड्रागन मिडिया सम्वाददाता
नुवाकोटका विभिन्न स्थानमा रहेका बाढी प्रभावित नागरिकलाई सञ्चार सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक संस्था सुविसुले राहत शिविरमा निःशुल्क वाई-फाई सेवा उपलब्ध गराएको छ।
प्राकृतिक विपदका कारण विस्थापित भई अस्थायी शिविरमा आश्रय लिइरहेका नागरिकलाई आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र आवश्यक सूचना आदानप्रदान गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको सुविसुले जनाएको छ।
विदुर नगरपालिका–८ हात्तीगौँडास्थित भैरुम माध्यमिक विद्यालयमा सञ्चालित राहत शिविरमा आश्रय लिइरहेका दुई सयभन्दा बढी बाढी प्रभावित नागरिकलाई लक्षित गरी पहिलो चरणमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको छ।
विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठ र स्थानीय समाजसेवी रमेश श्रेष्ठसँगको समन्वयमा सेवा सञ्चालनमा ल्याइएको हो। प्रधानाध्यापक श्रेष्ठले विपदको कठिन अवस्थामा शिविरमा रहेका नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन इन्टरनेट सेवाले महत्वपूर्ण सहयोग पुर्याएको बताए।
समाजसेवी रमेश श्रेष्ठले पनि विपदको समयमा सञ्चार सेवा अत्यावश्यक हुने उल्लेख गर्दै निःशुल्क इन्टरनेटले प्रभावित परिवारलाई सम्पर्कमा रहन र आवश्यक सूचना प्राप्त गर्न सहज बनाएको बताए।
सुविसुले विदुर नगरपालिका–५ पिपलटारस्थित चन्द्र ज्योति माध्यमिक विद्यालयमा सञ्चालित राहत शिविरमा पनि निःशुल्क वाई-फाई सेवा विस्तार गरेको छ। विद्यालयका प्रधानाध्यापक बासुदेव पंगेनीका अनुसार सो शिविरमा आश्रय लिइरहेका करिब तीन सयदेखि चार सय बाढी प्रभावित नागरिक सेवाबाट लाभान्वित भएका छन्।
पंगेनीले आपत्कालीन अवस्थामा सञ्चार सुविधा उपलब्ध गराएकोमा सुविसुप्रति कृतज्ञता व्यक्त गरे।
विपदका बेला सञ्चार सेवा सूचना आदानप्रदान, परिवारसँग सम्पर्क र आपत्कालीन समन्वयका लागि महत्वपूर्ण हुने जनाउँदै सुविसुले सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोटका अन्य प्रभावित क्षेत्र तथा राहत शिविरमा पनि आवश्यकताअनुसार निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने जनाएको छ।





