२२ भाद्र २०८३, सोमबार

भोटेकोशी बाढीको असर पोखराको पर्यटनमा, सुरक्षित गन्तव्यको सन्देश विश्वभर पुर्‍याउन निजी क्षेत्रको आग्रह

ड्रागन मिडिया सम्वाददाता

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नकारात्मक असर देशको पर्यटकीय राजधानी पोखराको पर्यटन र समग्र अर्थतन्त्रमा समेत देखिन थालेको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ।

पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनको शनिबार उद्घाटन कार्यक्रममा सहभागी उद्योगी तथा पर्यटन व्यवसायीले विपद प्रभावित क्षेत्रबाहेक नेपालका अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित र सञ्चालनमा रहेको सन्देश अन्तर्राष्ट्रिय बजारसम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने बताएका छन्।

विपदपछि नेपाल पूरै असुरक्षित बनेको जस्तो नकारात्मक सन्देश विदेशमा फैलिँदा पर्यटक आगमन प्रभावित हुन सक्ने भन्दै उनीहरूले पोखरासहित अन्य प्रमुख गन्तव्य सुरक्षित र भ्रमणका लागि उपयुक्त रहेको तथ्य प्रचार गर्न सरकार र पर्यटनसम्बद्ध निकायलाई आग्रह गरे।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले प्राकृतिक विपदको असर पोखराको पर्यटनमा गम्भीर रूपमा देखिन थालेको बताए। पर्यटक आगमन लामो समयसम्म प्रभावित भए पोखराको अर्थतन्त्रमा ठूलो दबाब पर्न सक्ने भएकाले समयमै आवश्यक रणनीति बनाउनुपर्ने उनको भनाइ छ।

“प्राकृतिक विपदपछि अहिले पर्यटक आउन सकेका छैनन्। लामो समय पर्यटक आएनन् भने पोखराको अर्थतन्त्रमा कस्तो असर पर्ला भन्नेबारे अहिले नै चिन्तन गर्दै समाधान खोज्नुपर्छ। ढिला गर्ने छुट छैन,” उनले भने।

नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले प्रत्यक्ष रूपमा विपद प्रभावित नभएका क्षेत्रमा समेत पर्यटन गतिविधि घट्न थालेको बताए। पोखरासहित नेपालका अधिकांश गन्तव्य खुला र सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी रूपमा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रियसँगै अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रयास भइरहेको जानकारी दिए। महासङ्घले विश्वका ७० वटा उद्योग तथा वाणिज्य सङ्घलाई पत्र पठाएर नेपालको विपद पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेको उनले बताए।

“विपदबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि राज्यलाई ठूलो आर्थिक श्रोत आवश्यक छ। त्यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहयोग आह्वान गरिएको छ,” श्रेष्ठले भने। उनले निजी क्षेत्रलाई मानवीय भावनाका साथ राहत तथा पुनःस्थापनामा सहयोग गर्न आग्रह गरे।

श्रेष्ठले नेपालमा प्राकृतिक विपदको जोखिम बढ्दै गएको उल्लेख गर्दै दीर्घकालीन न्यूनीकरणका लागि पूर्वतयारी र योजनाबद्ध विकास आवश्यक रहेको बताए। नदी तथा खोला किनारमा भइरहेको अव्यवस्थित बस्ती विस्तार, हिमताल र अन्य प्राकृतिक जोखिमलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

उनले विपदसँगै निजी क्षेत्रसमेत चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै व्यवसायीलाई निरुत्साहित गर्नेभन्दा लगानी, उद्योग सञ्चालन र आर्थिक गतिविधिका लागि सहज वातावरण बनाउन सरकारसँग आग्रह गरे।

यसैबीच, महाधिवेशनको अवसरमा लक्ष्मी ग्रुप प्रालिद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित ‘लक्ष्मी विद्या पदक–२०८२’ बाट व्यवस्थापन सङ्कायअन्तर्गत कास्की जिल्लामा उत्कृष्ट नतिजा हासिल गर्ने तीन विद्यार्थी सम्मानित भएका छन्।

स्नातकोत्तर तहमा जनप्रिय बहुमुखी क्याम्पसकी ज्योति तामाङ, स्नातक तहको बीबीएतर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी समीक्षा तिमिल्सिना तथा बीबीएसतर्फ जनप्रिय बहुमुखी क्याम्पसका सन्तोष थापा सम्मानित भएका हुन्। हालसम्म उक्त पदकबाट ७६ विद्यार्थी सम्मानित भइसकेका छन्।

महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान हुने कार्यक्रम छ। अध्यक्ष पदका लागि उत्तममान बुद्धाचार्य, शोभा गौतम, बलराम आचार्य र अर्जुन पोखरेलले उम्मेदवारी दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button