२१ भाद्र २०८३, आईतवार

भोटेकोशी बाढीबाट ५५ किलोमिटर सडक र ३५ पुल क्षतिग्रस्त, करिब ३० अर्बको क्षति

ड्रागन मिडिया सम्वाददाता

चीनतर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी तथा आसपासका क्षेत्रमा सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। सडक विभागका अनुसार धादिङ, नुवाकोट र रसुवामा करिब ५५ किलोमिटर सडक र ३५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। प्रारम्भिक रूपमा सडक पूर्वाधारमा करिब ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

सरकारले अवरुद्ध राजमार्ग र रणनीतिक सडक तत्काल सञ्चालनमा ल्याउन आपत्कालीन पुनर्निर्माण, नयाँ ट्रयाक निर्माण तथा बेलिब्रिज जडानको काम तीव्र बनाएको छ। क्षतिग्रस्त सडकमा वैकल्पिक ट्रयाक खोल्ने र बगाएका पुलको स्थानमा अस्थायी पुल राख्ने कार्यलाई प्राथमिकता दिइएको सडक विभागले जनाएको छ।

नुवाकोटको विदुरस्थित देवीघाटमा बाढीले पक्की पुल बगाएपछि नेपाली सेनाले अस्थायी पुल जडानको काम शुरु गरेको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार पुलका लागि आवश्यक सिभिल संरचना विभागले निर्माण गरिरहेको छ भने प्राविधिक जडानको जिम्मा नेपाली सेनाले सम्हालिरहेको छ।

देवीघाटस्थित तादी खोलामा ६० मिटर लामो एक्रो ब्रिज जडान भइरहेको छ। भदौ १० गते भोटेकोशीमा आएको बाढीले त्यहाँको करिब ५५ मिटर लामो पक्की पुल बगाएको थियो। पुरानै पुलको अबुटमेन्ट प्रयोग गरी नयाँ अस्थायी पुल जडान भइरहेको हो। पुल सञ्चालनमा आएपछि रसुवातर्फको पहुँच सहज हुने अपेक्षा गरिएको छ।

त्रिशूली बजार र बेत्रावतीमा पनि तत्काल बेलिब्रिज जडान गर्ने तयारी गरिएको छ। ती स्थानमा करिब ४८ मिटर लम्बाइका पुल आवश्यक पर्ने विभागको प्रारम्भिक आकलन छ। क्षतिग्रस्त ३५ पुलमध्ये तत्काल तीन स्थानमा अस्थायी पुल जडान गरी गल्छी–त्रिशूली–स्याफ्रुबेंसी–रसुवागढी सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

रसुवाको स्याफ्रुबेंसीमा पनि पुल बगाएकाले करिब ७५ मिटर लामो बेलिब्रिज आवश्यक पर्ने देखिएको छ। विभाग र नेपाली सेनासँग आवश्यक पुल सामग्री उपलब्ध भए पनि तल्लो खण्डको सडक अवरुद्ध भएकाले निर्माण सामग्री ढुवानी गर्न समस्या भइरहेको छ। सडक खुल्नेबित्तिकै सामग्री पुर्‍याएर जडान शुरु गरिने विभागले जनाएको छ।

विभागका अनुसार चीन सरकारले कोराला नाकामा उपलब्ध गराएको बेलिब्रिज सामग्रीसमेत सरकारले ल्याएर आवश्यकता अनुसार रसुवागढी वा अन्य क्षतिग्रस्त क्षेत्रमा प्रयोग गर्ने तयारी गरेको छ। प्रवक्ता न्यौपानेले अहिलेको मुख्य चुनौती पुल जडान गर्ने स्थानसम्म सडक पहुँच पुर्‍याउनु रहेको बताए।

बाढीले पुरानो सडकमा तीनदेखि चार मिटरसम्म लेदो र गेग्रान थुपारेकाले तत्काल सफा गरेर यातायात सञ्चालन गर्न कठिन भएको छ। विभागले बेत्रावतीसम्म वैकल्पिक अस्थायी सडक निर्माण गरी यातायात सञ्चालन गर्ने तयारी गरे पनि विदुर नगरपालिका–१० मा स्थानीयको अवरोधका कारण काम प्रभावित भएको छ।

विभागले खेतको केही भाग प्रयोग गरी वैकल्पिक ट्रयाक खोल्न खोजेपछि स्थानीयले मुआब्जाको माग गरेका छन्। समस्या समाधान भए दुई दिनभित्र बेत्रावतीसम्म सडक पहुँच स्थापित गर्ने विभागको योजना छ। बेत्रावतीसम्म सडक खुलेपछि धुन्चेतर्फको पहुँच सहज हुने अपेक्षा गरिएको छ।

यसैगरी, त्रिशूलीको बाढीले कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग कटान गरेपछि भित्तो काटेर नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ। नेपाल जियोटेक्निकल सोसाइटीको प्राविधिक परामर्शमा साढे पाँचदेखि आठ मिटर चौडाइको ट्रयाक निर्माण गर्ने तयारी गरिएको छ।

कृष्णभीरमा २५२ मिटर ट्रयाक खन्ने काम सम्पन्न भएसँगै निर्माण उपकरण आवतजावत गर्न सक्ने अस्थायी मार्ग खुलेको छ। थप केही दिन मर्मत तथा स्तरोन्नति गरेपछि सवारी सञ्चालनमा ल्याउन सकिने सडक विभागले जनाएको छ।

बाढीबाट क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभीर खण्डमा पनि मर्मत भइरहेको छ। मर्मत कार्यलाई तीव्र बनाउन उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको विभागले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button