चिलिमेसहित बाढी प्रभावित जलविद्युत आयोजनामा उद्धार चुनौतीपूर्ण, ९३३ जना अझै हराइरहेको इप्पानको विवरण

ड्रागन मिडिया सम्वाददाता
भदौ १० गतेको विनाशकारी बाढीबाट रसुवा र नुवाकोटका सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत आयोजना गम्भीर रूपमा प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार शनिबार साँझसम्म क्षतिग्रस्त आयोजनासँग सम्बन्धित ९३३ जना अझै हराइरहेका छन्। प्रभावित आयोजनाका विभिन्न सुरुङ, विद्युतगृह, क्याम्प र निर्माण क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ।
चिलिमे जलविद्युत केन्द्रमा बाढी गएको ११औँ दिनसम्म पनि विद्युतगृहमा फसेकाहरूको उद्धार गर्न सकिएको छैन। प्रतिकूल मौसम, पूर्ण रूपमा विच्छेद भएको सडक सञ्जाल तथा आवश्यक जनशक्ति र उपकरण घटनास्थलसम्म पुर्याउन नसक्दा उद्धार कार्य सुस्त भएको हो। विद्युतगृहसम्म पुग्ने पहुँच सुरुङमा नेपाली सेना र भारतीय सेनाका गरी २१ जनाले माटो तथा भग्नावशेष म्यानुअल रूपमा हटाइरहेका छन्।
चिलिमेको विद्युतगृहसम्म पुग्ने करिब २५० मिटर लामो पहुँच सुरुङमध्ये अहिलेसम्म करिब १०० मिटर मात्र सफा गरिएको छ। ठूलो एक्स्काभेटर सुरुङको मुखसम्म पुर्याउन नसक्दा काममा थप ढिलाइ भएको छ। ठूला हेलिकोप्टर अवतरण गर्न सक्ने अवस्था नरहेकाले आवश्यक सामग्री र उपकरण साना हेलिकोप्टरमार्फत पुर्याउने प्रयास भइरहेको छ।
यसैबीच, बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ आयोजनाको डिसेण्डर बेसिनबाट एक चिनियाँ नागरिकलाई जीवित उद्धार गरिएको छ। पानी र हिलो बाहिर निकालेपछि ती नागरिकलाई सकुशल निकाल्न सफल भएको कम्पनीले जनाएको छ। सोही क्षेत्रमा दुई शवसमेत फेला परेका छन्।
माथिल्लो त्रिशूली–१ आयोजनास्थलमा बाढी आउनुअघि एक हजार ४३३ जना कार्यरत थिए। तीमध्ये हालसम्म ८७८ जनाको उद्धार गरिएको छ। आयोजनाको सुरुङ र हेडवर्क्स क्षेत्रमा खोजी जारी रहेको छ भने कोरियाली टोली, शेर्पा उद्धारकर्मी, सर्च टोली र ड्रोन टोली परिचालित छन्। विशेष क्यामेरा र तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको छ।
माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा पनि अवस्था जटिल छ। तीनवटा साना एक्स्काभेटरले क्याम्प तथा कार्यालय क्षेत्रमा उत्खनन गरिरहे पनि चार मिटर गहिराइसम्म खन्दा भवनको भग्नावशेषसमेत भेटिएको छैन। ठूलो एक्स्काभेटर पुर्याउन नसक्दा खोजी कार्य चुनौतीपूर्ण बनेको छ।
रसुवागढी जलविद्युत आयोजनामा पनि नेपाली सेना, पूर्व कर्मचारी र भूगर्भविद्सहितको टोली हेलिकोप्टरमार्फत विद्युतगृहसम्म पुगेको छ। उद्धार टोलीले विद्युतगृहभित्र ठूलो परिमाणमा हिलो, लेदो, काठका टुक्रा र भग्नावशेष थुप्रिएको पाएको छ। कन्ट्रोल रुम पूर्ण रूपमा हिलो र लेदोले पुरिएको छ।
विद्युतगृहभित्र चारदेखि १४ जनासम्म फसेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको भए पनि हालसम्म खोजी टोलीले कसैलाई फेला पार्न सकेको छैन। बाढीले सडक, सुरुङ र विद्युतगृहसम्मको पहुँच एकैसाथ क्षतिग्रस्त बनाएकाले उद्धार कार्यमा सबैभन्दा ठूलो चुनौती भारी उपकरण घटनास्थलसम्म पुर्याउनु बनेको छ।





