२१ भाद्र २०८३, आईतवार

आरटी इन्डियाले सेप्टेम्बर ७ देखि हिन्दी डिजिटल समाचार प्लेटफर्म सुरु गर्दै

ड्रागन मिडिया समाचार कक्ष

रुसी अन्तर्राष्ट्रिय सञ्चार संस्था आरटी इन्डियाले सेप्टेम्बर ७ देखि नयाँ हिन्दी भाषाको डिजिटल समाचार प्लेटफर्म ‘आरटी हिन्दी’ सञ्चालनमा ल्याउने भएको छ।

आरटी इन्डियाले सन् २०२५ को डिसेम्बरमा भारतमा प्रसारण सुरु गरेको थियो। संस्थाका अनुसार पछिल्लो एक वर्षमा भारतीय दर्शकमाझ आफ्नो पहुँच विस्तार भएपछि हिन्दी भाषामार्फत थप व्यापक पाठक तथा दर्शकसम्म पुग्ने उद्देश्यले नयाँ प्लेटफर्म सुरु गर्न लागिएको हो।

आरटीले हिन्दी प्लेटफर्ममार्फत भारतीय दर्शकलाई आफ्नो मातृभाषामा रुस तथा विश्वसम्बन्धी समाचार, विश्लेषण र समसामयिक जानकारी उपलब्ध गराउने जनाएको छ। संस्थाले आफूले उपलब्ध गराउने समाचारलाई पश्चिमी सञ्चारमाध्यमको प्रभाव र सेन्सरशिपभन्दा पृथक दृष्टिकोणमा प्रस्तुत गर्ने दाबी गरेको छ।

आरटी हिन्दी स्टुडियोका पहिलो अतिथि भारतस्थित रुसी दूतावासका उपप्रमुख तथा मन्त्री सल्लाहकार रोमन बाबुश्किन रहेका छन्। आरटी इन्डियाकी समाचार प्रमुख रुञ्झुन शर्मासँग हिन्दीमा दिएको अन्तर्वार्तामा बाबुश्किनले हिन्दी भाषाको समाचार प्लेटफर्म सुरु हुनु आवश्यक र समयानुकूल कदम भएको बताएका छन्।

उनले भारतीय दर्शकले अब रुस र विश्वसम्बन्धी समाचार तथा दृष्टिकोण आफ्नै भाषामा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन्।

आरटी हिन्दीको सुरुआतसँगै आरटीले भारतमा हिन्दी भाषी दर्शकमाझ आफ्नो डिजिटल उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button