केरुङमा अलपत्र ४०० भन्दा बढी कन्टेनरका सामान कोरला नाकाबाट ल्याइँदै

ड्रागन मिडिया सम्वाददाता
रसुवा बाढीपछि चीनको केरुङमा अलपत्र परेका नेपाली व्यवसायीका व्यापारिक सामान कोरला नाका हुँदै नेपाल ल्याउन शुरु गरिएको छ।
भदौ १० गते आएको विनाशकारी बाढीले रसुवागढी क्षेत्रमा नेपाल र चीनतर्फका सरकारी संरचनासहित सडकमार्गमा ठूलो क्षति पुर्याएपछि केरुङका गोदाममा रोकिएका ४०० भन्दा बढी कन्टेनरका सामान वैकल्पिक मार्गबाट ढुवानी गर्न थालिएको मुसा ट्रान्सपोर्टले जनाएको छ।
ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी बाढीले रसुवागढी क्षेत्रका भौतिक संरचना तथा काठमाडौं जोड्ने सडकमार्गमा व्यापक क्षति पुर्याएकाले तत्काल पुरानै मार्गबाट ढुवानी सहज हुने अवस्था छैन।
सडक पुनःस्थापनामा समय लाग्ने देखिएपछि केरुङमा रहेका सामान कोरला नाका प्रयोग गरी नेपालतर्फ ल्याउने काम तीव्र बनाइएको उनले बताए।
दसैँ र तिहार नजिकिँदै गर्दा नेपाली बजारका लागि आवश्यक सामानको ढुवानी बढिरहेको समयमा रसुवागढी मार्ग अवरुद्ध भएपछि वैकल्पिक नाकाको प्रयोग आवश्यक भएको व्यवसायीले बताएका छन्।
सेपिङका अनुसार बाढीअघि छोटो केरुङ–रसुवागढी मार्ग प्रयोग गरी सामान ढुवानी तीव्र रूपमा भइरहेको थियो। अहिले भने रोकिएका कन्टेनरका सामान क्रमशः कोरला नाका हुँदै नेपाल भित्र्याउने व्यवस्था मिलाइएको छ।





