२१ भाद्र २०८३, आईतवार

ओलीविरुद्ध एआई निर्मित आपत्तिजनक तस्वीर सामाजिक सञ्जालमा भाइरल

ड्रागन मिडिया सम्वाददाता

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले एआई प्रविधिबाट तयार गरिएको भनिएको आपत्तिजनक तस्वीर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलाइएको छ।

सामाजिक सञ्जालमा प्रसारित तस्वीरमा ओलीको गलामा जुत्ताको माला लगाइएको र अनुहारमा कालोमोसो दलिएको जस्तो देखाइएको छ। तस्वीर वास्तविक घटनाको नभई कृत्रिम रूपमा तयार गरिएको दाबी गरिएको छ।

ओली केही दिनअघि बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि धादिङ र नुवाकोटका विभिन्न स्थानमा पुगेका थिए। त्यसक्रममा उनले बाढीपीडितको उद्धार, राहत तथा व्यवस्थापनमा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना गरेका थिए।

त्यसपछि ओलीले एक भारतीय पत्रकारलाई दिएको अन्तर्वार्ता सार्वजनिक भएको थियो। त्यसको भोलिपल्ट उक्त कृत्रिम तस्वीर सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको देखिएको छ।

तस्वीर शुरुमा ‘Budda Magar’ नामको सामाजिक सञ्जाल प्रोफाइलबाट सार्वजनिक गरिएको र त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा सञ्चालित विभिन्न फेसबुक पेज तथा समूहमा व्यापक रूपमा साझा गरिएको बताइएको छ। यद्यपि ती पेज तथा समूहको आधिकारिक सम्बन्ध र तस्वीर निर्माणमा कसको संलग्नता थियो भन्ने विषय पुष्टि हुन बाँकी छ।

पछिल्ला दिनमा राजनीतिक असहमति र सरकारको आलोचनालाई लिएर सामाजिक सञ्जालमा धम्की, गालीगलौज, व्यक्तिगत चरित्रमाथि आक्रमण तथा कृत्रिम सामग्रीको प्रयोग बढ्दै गएको भन्दै चिन्ता व्यक्त भइरहेको छ।

बाढीबाट परिवारका सदस्य र सम्पत्ति गुमाएका पीडितलाई समेत सामाजिक सञ्जालमा गालीगलौज गरिएको विषय सार्वजनिक भएपछि त्यसको व्यापक आलोचना भएको थियो।

प्रधानमन्त्री बालेन शाहले समेत सामाजिक सञ्जालमार्फत पीडितमाथि दुर्व्यवहार, धम्की र आपत्तिजनक गतिविधि गर्नेहरूलाई अपराधीको संज्ञा दिँदै कारवाहीको चेतावनी दिएका थिए। त्यसका बाबजुद राजनीतिक तथा व्यक्तिगत आक्रमणका लागि सामाजिक सञ्जालको दुरुपयोग रोकिएको छैन।

एआई प्रविधिबाट वास्तविकजस्तो देखिने तस्वीर, भिडियो र आवाज तयार गर्न सहज हुँदै गएपछि राजनीतिक व्यक्तित्वको प्रतिष्ठा, सार्वजनिक विश्वास र सूचना वातावरणमाथि नयाँ चुनौती थपिएको छ। यस्तो सामग्री वास्तविक घटनाका रूपमा प्रस्तुत गरिँदा भ्रम फैलिने र राजनीतिक ध्रुवीकरण थप गहिरिन सक्ने जोखिम बढेको छ।

तस्बिर : सामाजिक सञ्जालबाट साभार

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button