नेपाल–दक्षिण कोरिया परराष्ट्रमन्त्री वार्ता, बाढीपछिको पुनर्निर्माणमा सहयोग निरन्तर राख्ने प्रतिबद्धता

ड्रागन मिडिया सम्वाददाता
परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटमा गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै बेपत्ता दक्षिण कोरियाली नागरिकको खोजीबारे विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिलिफ टिम पठाएकोमा दक्षिण कोरिया सरकारप्रति आभार व्यक्त गरे। उनले दक्षिण कोरियाबाट प्राप्त मानवीय सहायता र राहत सामग्रीको समेत प्रशंसा गरे।
खनालले नेपालको अबको प्राथमिकता विपदबाट क्षतिग्रस्त पूर्वाधारलाई पहिलेभन्दा सुरक्षित, दिगो र उत्थानशील रूपमा पुनर्निर्माण गर्नु रहेको उल्लेख गर्दै त्यसमा दक्षिण कोरियाको निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनले विपदपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताए। उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोगिरहेको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गरे।
चोले जलवायु परिवर्तनका प्रभावबारे विश्व समुदायलाई थप संवेदनशील बनाउन नेपाल र दक्षिण कोरियाले संयुक्त रूपमा काम गर्नुपर्ने बताए। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोपलगायत अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले यस विषयमा सहकार्य गर्न सक्ने उनको भनाइ थियो।
उनले जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका पक्षमा दक्षिण कोरियाले समेत आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।
भेटमा दुवै परराष्ट्रमन्त्रीले लामो समयदेखिको मित्रता, आपसी विश्वास र सहकार्यका आधारमा नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप सुदृढ र उच्च तहमा पुर्याउन निकट सहकार्य जारी राख्ने प्रतिबद्धता दोहोर्याएका छन्।





