२२ भाद्र २०८३, सोमबार

सुरक्षाकर्मीको साहसप्रति प्रधानमन्त्री शाहको उच्च प्रशंसा, १३ हजार ३९१ जनाको उद्धार

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी–त्रिशूली बाढी तथा त्यसपछि उत्पन्न विपदमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको त्याग, निष्ठा र साहसको उच्च प्रशंसा गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा तीनवटै सुरक्षा निकायको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३ सय ९१ जनाको उद्धार गरिएको उल्लेख गरेका छन्। स्थलमार्ग, हेलिकप्टर तथा कतिपय अवस्थामा घाइतेलाई आफ्नै काँधमा बोकेर अस्पतालसम्म पुर्‍याइएको उनले बताएका छन्।

प्रधानमन्त्रीले नुवाकोटको विदुर नगरपालिका–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा कार्यरत सुरक्षाकर्मीको भूमिकालाई विपदका बेला देखिएको साहसको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार कारागारमा ९२३ कैदीबन्दी रहेका बेला भदौ १० गते आएको बाढीको जोखिम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका कमान्डरसहित ५२ सुरक्षाकर्मीले दुई भवनमा रहेका सबै कैदीबन्दीलाई सुरक्षित रूपमा माथिल्लो भवनमा सारेका थिए।

त्यतिबेलासम्म लेदोसहितको बाढीले कारागारको प्रशासनिक भवन, सुरक्षा पोस्ट र पर्खालमा क्षति पुर्‍याउँदै कैदीबन्दी राखिएका भवनको पहिलो तलासम्म प्रवेश गरिसकेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

बाढीको मौका छोपेर पर्खाल र गेट तोडी करिब १०० मिटरसम्म भागेका ५० कैदीबन्दीलाई सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएको पनि शाहले बताएका छन्। केही कैदीबन्दीको आक्रमणमा सुरक्षाकर्मी घाइते भएको र उनीहरूले वरपरका स्थानीय बासिन्दाको समेत ज्यान जोगाएको उनको भनाइ छ।

बाढीपछि कारागारको ब्यारेक र कार्यालय अझै लेदोमा रहेको, पहुँचमार्ग क्षतिग्रस्त भएको र खानेपानी व्यवस्था प्रभावित भए पनि सुरक्षाकर्मीले खेतको आली हुँदै टाढाबाट पानी बोकेर कैदीबन्दीलाई खुवाउने तथा ड्युटीमा निरन्तर खटिने काम गरिरहेको प्रधानमन्त्रीले बताएका छन्।

प्रधानमन्त्री शाहले यस विपदमा सुरक्षाकर्मी स्वयं पनि आफ्ना सहकर्मी गुमाएको पीडामा रहेको उल्लेख गरेका छन्। उनका अनुसार ४५ नेपाली सैनिक, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्।

“यस्तो पीडामा आँसु लुकाएर दलदलमा पसिरहनुभएको छ, सकिनसकी शव उठाइरहनुभएको छ, होल्डिङ सेन्टरमा दिनरात पहरेदारी दिइरहनुभएको छ,” प्रधानमन्त्री शाहले भनेका छन्। थप बाढीको जोखिमबारे नागरिकलाई सतर्क गराउँदै सुरक्षाकर्मीहरू निरन्तर सूचना प्रवाहमा समेत खटिएको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्रीका अनुसार नेपाली सेनाले नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ स्थापना गरी उद्धार सञ्चालन गरिरहेको छ।

रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’, चिकित्सकसहितको ‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालनमा रहेको उनले बताएका छन्। विद्युत आयोजनाका सुरुङ क्षेत्रमा समेत नेपाली सेनाले खोज तथा उद्धार कार्यको नेतृत्व गरिरहेको छ।

सेनाले तत्काल आवागमन सहज बनाउन बेलीब्रिज निर्माण र अवरुद्ध बाटो खोल्ने काम तीव्र बनाएको छ। नुवाकोटको देवीघाटमा सेनाका इञ्जिनियर परिचालन गरी एक्रो ब्रिज जडान भइरहेको छ। हाल प्रभावित क्षेत्रमा ९ हजार २ सय ८७ नेपाली सैनिक खटिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

नेपाल प्रहरी बाढीको सुरुवाती चरणदेखि नै खोज, उद्धार, राहत वितरण, शव व्यवस्थापन र शान्ति सुरक्षामा अग्रपङ्क्तिमा रहेको प्रधानमन्त्रीले बताएका छन्। तालिमप्राप्त कुकुर टोलीसमेत परिचालन गरिएको र जोखिमपूर्ण क्षेत्रमा नागरिकको जिउधन सुरक्षाका लागि निरन्तर सूचना प्रवाह भइरहेको उनले उल्लेख गरेका छन्। हाल प्रभावित क्षेत्रमा ७ हजार ९ सय ७५ प्रहरी परिचालित छन्।

सशस्त्र प्रहरी बल, नेपालले विशेष तालिमप्राप्त गोताखोर, डोरी उद्धार टोली, ड्रोन स्क्वाड र केनाइन टोलीमार्फत खोज तथा उद्धार कार्य गरिरहेको प्रधानमन्त्रीले बताएका छन्। प्रभावित क्षेत्रमा फिल्ड कमान्ड पोस्टसहित १३ वटा विपद प्रतिकार्य बेस स्थापना गरिएको छ। हाल ४ हजार २ सय ३ सशस्त्र प्रहरी प्रभावित क्षेत्रमा खटिएका छन्।

प्रधानमन्त्री शाहले प्रभावित नेपाल–चीन सीमाक्षेत्रमा नेपाली राष्ट्रिय झण्डा पुनःस्थापना गर्न सशस्त्र प्रहरी सफल भएको पनि उल्लेख गरेका छन्।

उनले सुरक्षाकर्मीको योगदानको उच्च कदर गर्दै कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्।

संकटका बेला सुरक्षाकर्मीलाई खटिरहन प्रेरित गर्ने उनीहरूको परिवारप्रति समेत कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्री शाहले संकट व्यवस्थापनमा नेपाली सुरक्षाकर्मीसँगै काम गरिरहेका स्वदेशी तथा विदेशी विज्ञलाई पनि धन्यवाद दिएका छन्।

“तपाईंहरूप्रति हामी सधैँ कृतज्ञ रहनेछौँ,” प्रधानमन्त्री शाहले राष्ट्रसेवक सुरक्षाकर्मीलाई सम्बोधन गर्दै भनेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button