नुवाकोटमा खोज तथा उद्धार तीव्र, ३० स्थानमा तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित नुवाकोटमा बेपत्ता व्यक्तिको खोज तथा उद्धारलाई थप तीव्र बनाइएको छ। बाढी आएको ११ दिनपछि विदुर नगरपालिका–१० स्थित वेत्रावतीबाट ६४ वर्षीया महिलाको सकुशल उद्धार भएपछि अझै जीवित व्यक्ति फेला पर्न सक्ने आशासहित खोजी अभियानलाई केही दिन थप सघन बनाइएको हो।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका तालिमप्राप्त कुकुरसहितको टोली जिल्लाका विभिन्न ३० स्थानमा केन्द्रित भएर बाढीमा हराइरहेका व्यक्तिको खोजतलासमा परिचालित भएको छ।
शनिबार वेत्रावतीबाट महिलाको उद्धार भइरहेका बेला विदुरमा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका नुवाकोट–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिनाले अझै केही दिन सूक्ष्म रूपमा खोज तथा उद्धार जारी राख्न निर्देशन दिएका थिए।
बाढी आएको ११ दिनपछि गरिएको उद्धारले खोजी अभियानलाई थप आशावादी बनाएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए। उनका अनुसार उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै बाढीबाट क्षतिग्रस्त तथा पुरिएका घरका प्रत्येक कोठा र कुना–काप्चासम्म पुगेर खोजी भइरहेको छ। आवश्यक परे नेपाली सेनाको समेत सहयोग लिइने उनले बताए।
खोजीका क्रममा आइतबार विदुर नगरपालिका–१ त्रिशूली बजारमा दुई र वडा नं. ३ सिर्खालीमा एक गरी तीनवटा शव फेला परेका छन्।
“बाढीबाट क्षतिग्रस्त तथा पुरिएका घरका प्रत्येक कोठा र कुना–काप्चासम्म पुगेर खोज तथा उद्धार तीव्र बनाएका छौँ,” प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, “उद्धारमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीय बासिन्दालाई पनि अनुरोध गर्दछौँ।”
जिल्ला विपद व्यवस्थापन समितिको तथ्याङ्कअनुसार भोटेकोशी बाढीमा परी नुवाकोटमा मात्रै दुई हजार ६७३ जना बेपत्ता छन्। स्थानीय तहबाट तथ्याङ्क सङ्कलन जारी रहेकाले यो संख्या अझै बढ्न सक्ने जनाइएको छ।
बाढीबाट विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका प्रत्यक्ष प्रभावित भएका छन्। जिल्लाका प्रमुख बस्ती वेत्रावती, भैँसे, तुप्चे, त्रिशूली, ढुङ्गे र देवीघाटलगायत क्षेत्र बगरमा परिणत भएका छन् भने ठूलो जनधनको क्षति भएको छ।
धेरै घर बाढीले पुरेको तथा कतिपय घर बगाएर अन्यत्र पुर्याएको अवस्थामा बेपत्ता व्यक्तिको जीवन जोगाउन सकिने सम्भावनालाई ध्यानमा राख्दै संयुक्त सुरक्षा फौजले खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाएको हो।





