२२ भाद्र २०८३, सोमबार

सन्तानेश्वर महायज्ञमा पाँचौँ दिनसम्म १ करोड ५३ लाख संकलन

ड्रागन मिडिया सम्वाददाता

पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा पाँचौँ दिनसम्म १ करोड ५३ लाख रुपैयाँ संकलन भएको छ। आइतबार मात्रै २६ लाख ५० हजार रुपैयाँ सहयोग जुटेको आयोजकले जनाएको छ।

प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समितिका सचिव लक्ष्मण कोइरालाका अनुसार महायज्ञ सुरु हुनुअघि नै मन्दिर निर्माणका लागि ७७ लाख रुपैयाँ संकलन भइसकेको थियो।

महायज्ञको पाँचौँ दिन पोखरा–१४ स्थित विश्वकर्मा सप्लायर्सले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। नारायण ढुंगाना, लक्ष्मण बराल, मैनादेवी पौडेल र प्रेमप्रसाद चापागाईंले एक लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।

जमुनादेवी पराजुलीले १ लाख ५ हजार ५५५ रुपैयाँ, फडिन्द्रप्रसाद पराजुलीले १ लाख १ हजार रुपैयाँ, हरिप्रसाद पराजुलीले १ लाख १ हजार रुपैयाँ, शिवप्रसाद पौडेलले १ लाख ५५५ रुपैयाँ तथा टुल्कीदेवी गौतमले ७५ हजार ५७५ रुपैयाँ सहयोग गरेको आयोजकले जनाएको छ।

महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले श्रीमद्भागवत कथा वाचन गरिरहेका छन्। भक्तजन कथा श्रवणसँगै भजनकीर्तन तथा विभिन्न धार्मिक कार्यक्रममा सहभागी भइरहेका छन्। महायज्ञ प्रचारप्रसार संयोजक लक्ष्मण बरालका अनुसार महायज्ञ भदौ २५ गतेसम्म सञ्चालन हुनेछ।

आयोजक समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले अजा एकादशीका अवसरमा महायज्ञ विशेष रूपमा सञ्चालन गरिने बताएका छन्। महायज्ञबाट संकलित रकम सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणमा प्रयोग गरिनेछ भने केही रकम बाढीपीडित राहत कोषमा समेत जम्मा गरिने आयोजकले जनाएको छ।

मन्दिरलाई चारवटा ढोका र पञ्चमुखी शिवलिङ्गसहित आकर्षक शिवालयका रूपमा पुनर्निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ। सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास रहेको छ। स्थानीय लीलाधर कोइरालाले करिब ९२ वर्षअघि उक्त मन्दिर स्थापना गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button