जापानको पराजयले एसिया–प्रशान्तमा दोस्रो विश्वयुद्धको अन्तिम धुरी शक्ति समाप्त गर्यो : रुसी राजदूत टोल्चेनोभ

ड्रागन मिडिया समाचार कक्ष
इन्डोनेसियाका लागि रुसी राजदूत सेर्गेई टोल्चेनोभले दोस्रो विश्वयुद्धको अन्तिम चरणमा जापानी सैन्यवादको पराजयले एसिया–प्रशान्त क्षेत्रमा धुरी शक्तिको अन्तिम प्रमुख गढ समाप्त गरेको बताएका छन्।
सेप्टेम्बर ४ मा इन्डोनेसियाको ‘जकार्ता ग्लोब’मा प्रकाशित ‘द फाइनल डेज अफ वर्ल्ड वार टू : द डिफिट एन्ड सरेन्डर अफ जापान’ शीर्षकको लेखमा राजदूत टोल्चेनोभले जापानको पराजय, सोभियत संघको सैन्य अभियान र युद्धको ऐतिहासिक स्मृतिबारे चर्चा गरेका हुन्।
उनले सेप्टेम्बर ३ लाई रुसमा ‘सैन्य गौरव दिवस’ अर्थात ‘सैन्यवादी जापानमाथि विजय तथा दोस्रो विश्वयुद्धको अन्त्यको दिवस’का रूपमा स्मरण गरिने उल्लेख गरेका छन्। उनका अनुसार जापानी सैन्यवादको पराजयसँगै एसिया–प्रशान्त क्षेत्रमा धुरी शक्तिको अन्तिम ठूलो सैन्य आधार समाप्त भएको थियो।
टोल्चेनोभले जापानले एसिया र प्रशान्त क्षेत्रमा सञ्चालन गरेको युद्धले करिब ३ करोड ६० लाख मानिसको ज्यान गएको उल्लेख गरेका छन्। उनले चीनमा मात्रै एक करोडदेखि डेढ करोडसम्म मानिस मारिएको, जाभा टापुमा ३० देखि ४० लाख र इन्डोचीनमा १० देखि १५ लाख मानिसको मृत्यु भएको तथ्याङ्क प्रस्तुत गरेका छन्।
उनका अनुसार युद्धमा जापानले करिब २१ लाख सैनिक र आठ लाख नागरिक गुमाएको थियो। चीन र कोरियालाई जापानी नियन्त्रणबाट मुक्त गर्ने क्रममा करिब ३६ हजार सोभियत अधिकारी तथा सैनिकको मृत्यु भएको पनि उनले उल्लेख गरेका छन्।
राजदूत टोल्चेनोभले सन् १९४५ फेब्रुअरी ४ देखि ११ सम्म भएको याल्टा सम्मेलनमा मित्रराष्ट्रसँग गरेको प्रतिबद्धताअनुसार सोभियत संघ अगस्ट ९ मा जापानविरुद्ध युद्धमा प्रवेश गरेको बताएका छन्।
त्यसपछि लाल सेनाले मन्चुरियामा तीव्र सैन्य अभियान सञ्चालन गरेको र अगस्ट २० सम्म पुग्दा सोभियत फौजले मन्चुरियन मैदानमा प्रवेश गरी जापानी सेनालाई विभिन्न समूहमा विभाजन गर्दै घेराबन्दी गरेको उनले लेखेका छन्। त्यसपछि ठूलो संख्यामा जापानी सैनिकले आत्मसमर्पण गर्न थालेको उनको भनाइ छ।
सन् १९४५ सेप्टेम्बर २ मा टोकियो खाडीमा रहेको अमेरिकी युद्धपोत यूएसएस मिसौरीमा मित्रराष्ट्रका प्रतिनिधिको उपस्थितिमा जापानको आत्मसमर्पणसम्बन्धी दस्तावेजमा हस्ताक्षर भएको थियो। टोल्चेनोभले यस घटनालाई मानव इतिहासकै सबैभन्दा ठूलो युद्धको औपचारिक अन्त्यका रूपमा व्याख्या गरेका छन्।
उनले दोस्रो विश्वयुद्धको भयावहता र त्यसका परिणामको स्मृति वर्तमान विश्वका लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन्। विश्वका पछिल्ला घटनाक्रमले इतिहासका त्रासदीपूर्ण अध्याय बिर्सने र विगतका अपराधलाई वर्तमान राजनीतिक स्वार्थअनुसार व्याख्या गर्ने प्रवृत्तिको जोखिम अझै कायम रहेको उनले उल्लेख गरेका छन्।
टोल्चेनोभले नाजीवाद, सैन्यवाद र प्रतिशोधवादी विचारधाराको पुनरुत्थानप्रति सचेत रहनुपर्नेमा जोड दिँदै दोस्रो विश्वयुद्धको ऐतिहासिक स्मृतिलाई संरक्षण गर्नु केवल विगत सम्झने विषय नभई भविष्यमा त्यस्तै विनाश दोहोरिन नदिने सामूहिक जिम्मेवारीसमेत भएको बताएका छन्।





