नारायणगढ–मुग्लिन सडकको तुइन खोला क्षेत्रमा आजदेखि दैनिक आंशिक अवरोध

ड्रागन मिडिया सम्वाददाता
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा आज भदौ २२ गतेदेखि दैनिक रूपमा निश्चित समय सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले सडक मर्मत तथा माटो कटान कार्यका लागि समयतालिका निर्धारण गरी सवारी सञ्चालन आंशिक रूपमा रोक्ने जनाएको हो। मुग्लिन–काठमाडौँ सडकखण्डको कृष्णभीर क्षेत्रमा सडक मर्मत तथा नयाँ ट्रयाक खोल्ने काम जारी रहेकाले अहिले उक्त मार्गमा सवारी चाप कम भएको प्रशासनले जनाएको छ।
यही अवस्थालाई उपयोग गर्दै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला परियोजनाअन्तर्गत भित्तो काट्ने तथा माटो कटानको काम अघि बढाउन लागिएको हो। निर्माण कार्यका कारण यात्रु र सवारी साधनलाई पर्ने असुविधा सकेसम्म कम गर्न निश्चित समय तोकेर सडक बन्द र खुला गर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
कार्यतालिकाअनुसार दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म, बिहान ८:३० देखि १०:३० बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म, दिउँसो १:३० देखि ३:३० बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहनेछ।
बिहान ८ देखि ८:३० बजेसम्म, बिहान १०:३० देखि ११ बजेसम्म, दिउँसो १ देखि १:३० बजेसम्म तथा दिउँसो ३:३० देखि ४ बजेसम्म सवारी साधन सञ्चालन गर्न दिइनेछ। साँझ ६ बजेपछि भने सडक नियमित रूपमा खुला रहनेछ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा हस्ताक्षरित सूचनाअनुसार कृष्णभीर खण्डको मर्मत कार्य सम्पन्न भई सवारी आवागमन नियमित नहुन्जेलसम्म यो समयतालिका लागू हुनेछ।
जिल्ला प्रशासन कार्यालयले तोकिएको समयतालिकालाई ध्यानमा राखेर यात्रा योजना बनाउन तथा सवारी सञ्चालन गर्न यात्रु र चालकलाई अनुरोध गरेको छ।





