२२ भाद्र २०८३, सोमबार

मुस्ताङको ठिनी गाउँमा परम्परागत फालो पर्व सुरु

ड्रागन मिडिया सम्वाददाता

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित ठिनी गाउँमा थकाली समुदायले परम्परागत रूपमा मनाउँदै आएको फालो पर्वअन्तर्गतका धार्मिक विधि आइतबारदेखि सुरु भएका छन्। हरेक वर्ष भदौ महिनामा मनाइने भएकाले स्थानीय थकाली भाषामा यस पर्वलाई ‘फालो’ भनिन्छ।

थकाली समुदायको उद्गमस्थलका रूपमा परिचित ठिनी गाउँ ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। स्थानीयका अनुसार विगतमा थकाली राजाले शासन गरेको यस गाउँमा पुस्तौँदेखि फालो पर्व मनाउने परम्परा कायम छ।

पर्वको पूर्वसन्ध्यामा गाउँका लामाले प्रकृतिको विशेष पूजा गर्ने र स्थानीयवासीले उनीहरूबाट आशीर्वाद लिने परम्परा छ। प्रकृति पूजाका लागि जाने क्रममा स्थानीय महिलाले लामालाई खादा र फूलमाला लगाएर सम्मानपूर्वक बिदाइ गर्छन्।

स्थानीय लामा श्यामप्रसाद थकालीका अनुसार फालो पर्वमा हिमाललाई साक्षात् भगवानका रूपमा मानेर पूजा गरिन्छ। गाउँमा कुनै अनिष्ट नहोस्, रोगव्याधि नफैलियोस्, अन्नबाली सप्रियोस्, प्राकृतिक विपद नआओस् र विश्वमा शान्ति कायम होस् भन्ने कामनासहित प्रकृति पूजा गरिने उनले बताए।

पछिल्लो समय प्राकृतिक विपदका घटना बढ्दै गएको र रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको स्मरण गर्दै उनले यस्ता घटना पुनः नदोहोरिउन् भन्ने कामनासमेत यस वर्षको पूजामा गरिने बताए।

फालो पर्वको पूर्वसन्ध्यामा ठिनी गाउँका स्थानीयवासी घोडामा सवार भएर प्रकृति पूजाका लागि नमखुलेक क्षेत्र पुगेका छन्। पूजामा सहभागी लामालाई गाउँका महिलाले परम्परागत विधिअनुसार सम्मानपूर्वक बिदाइ गरेका थिए।

प्रकृति पूजा गर्न गएको टोली दुई दिनपछि गाउँ फर्कनेछ। टोली फर्किएपछि फालो पर्वका मुख्य सांस्कृतिक कार्यक्रम औपचारिक रूपमा सुरु हुने स्थानीयवासीले बताएका छन्। पर्वका क्रममा याक नाच, जोगी नाच र तमाया नाचलगायत परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ।

दुई दिनसम्म सञ्चालन हुने मुख्य पर्व धार्मिक विधि, परम्परागत पूजा तथा सांस्कृतिक कार्यक्रमसहित समापन गरिनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button