कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मारमा

ड्रागन मिडिया सम्वाददाता
कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएपछि जुम्ला, मुगु र हुम्लाबाट स्याउ बोकेर बजारतर्फ हिँडेका दर्जनौँ गाडी तीन दिनदेखि सडकमै रोकिएका छन्। स्याउ निर्यातको मुख्य सिजनमा सडक अवरुद्ध हुँदा व्यापारीलाई ठूलो आर्थिक क्षति हुने जोखिम बढेको छ।
अविरल वर्षाका कारण जुम्ला, कालीकोट र दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो, ढुङ्गा र लेदो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। जुम्लाबाट छुटेपछि एकदेखि दुई दिनभित्र सुर्खेत तथा नेपालगन्ज पुग्ने लक्ष्यसहित हिँडेका सवारी साधन बाटोमै रोकिएपछि स्याउ कुहिने चिन्ताले व्यापारीहरू समस्यामा परेका छन्।
स्याउ व्यापारी मक्कर शाहीले शनिबारदेखि राजमार्गका विभिन्न स्थानमा आएको पहिरोका कारण आफूहरू अलपत्र परेको बताए। सडक खुल्न अझै केही दिन लाग्न सक्ने जानकारी पाएपछि स्याउ कुहिएर जाने हो कि भन्ने चिन्ता बढेको उनको भनाइ छ।
अर्का व्यापारी हस्तबहादुर रावतले वर्षा, बाढी र पहिरोका कारण गत वर्ष करिब रु १० लाख बराबरको घाटा व्यहोर्नुपरेको बताए। भरपर्दो सडक संरचना नहुँदासम्म स्याउ व्यापारीले बर्सेनि यस्तै समस्या भोग्नुपर्ने उल्लेख गर्दै उनले क्षति व्यहोर्ने व्यापारीका लागि राज्यले राहतको व्यवस्था गर्नुपर्ने माग गरे।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार यस वर्ष जिल्लामा १९ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको छ। त्यसमध्ये करिब ५० प्रतिशत स्याउ निर्यात भइसकेको छ। बाँकी स्याउ बजार पठाउने मुख्य समयमा सडक अवरुद्ध हुँदा व्यापारीसँगै समग्र जिल्लाको अर्थतन्त्र प्रभावित हुने अवस्था सिर्जना भएको उनले बताए।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार शनिबार राति ७ बजेदेखि कर्णाली राजमार्गको गगने खोलामा गएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। आइतबार कालीकोटको पिली तथा एस मोड क्षेत्रमा पनि पहिरो र ढुङ्गा खसेपछि सडकमा थप क्षति पुगेको छ।
सडक खुलाउन आइतबार बिहान ५ बजेदेखि मेसिन र प्राविधिक टोली परिचालन गरिएको महताराले जानकारी दिए। लेदो, ढुङ्गा र चट्टानसहितको पहिरोले राजमार्गका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएकाले तत्काल आवागमन सहज हुने अवस्था नरहेको कार्यालयले जनाएको छ।
राजमार्गको अवस्था जोखिमपूर्ण रहेकाले आधिकारिक सूचना जारी नभएसम्म उक्त सडकखण्डमा यात्रा नगर्न यात्रु तथा सर्वसाधारणलाई आग्रह गरिएको छ। अवरुद्ध सडक सञ्चालनमा ल्याउन उच्च प्राथमिकताका साथ काम भइरहेको भए पनि पूर्ण रूपमा आवागमन सहज हुन तीन दिनसम्म लाग्न सक्ने सडक डिभिजन कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार सडक अवरुद्ध भएपछि जुम्ला, कालीकोट, मुगु र हुम्लाबाट सुर्खेततर्फ आउँदै गरेका सवारी साधन विभिन्न स्थानमा रोकिएका छन्। सुर्खेतबाट माथिल्लो कर्णालीतर्फ गएका सवारी साधन पनि दैलेखको राकम, खिड्कीज्यूला र दही खोलालगायत क्षेत्रमा रोकिएका छन्।
सडक अवरोधका कारण माथिल्लो कर्णालीबाट बजारतर्फ ल्याइँदै गरेका स्याउ तीन दिनदेखि गाडीमै थन्किएका छन्। लामो समय सडक नखुले स्याउ बिग्रिने र व्यापारीले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको छ।





