सोमबार कोशी, बागमतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

ड्रागन मिडिया सम्वाददाता
सोमबार देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ। यसको प्रभावले देशभर साधारणतया बादल लागेको छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
सोमबार देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।





