एअरोफ्लोटले सन् २०२७ मा पहिलो आठ एमएस–२१ विमान प्राप्त गर्ने

ड्रागन मिडिया समाचार कक्ष
रुसको राष्ट्रिय ध्वजावाहक एअरोफ्लोटले सन् २०२७ को चौथो त्रैमासिकमा पहिलो आठवटा एमएस–२१ विमान प्राप्त गर्ने योजना बनाएको छ। त्यसपछि सन् २०२८ मा थप १० वटा विमान कम्पनीको बेडामा समावेश गरिनेछ।
पूर्वी आर्थिक मञ्च २०२६ का क्रममा एअरोफ्लोटका प्रमुख सेर्गेई अलेक्जान्द्रोभ्स्कीले स्वदेशमा निर्मित एमएस–२१ विमानको आपूर्ति तालिकाबारे जानकारी दिएका हुन्।
उनका अनुसार एमएस–२१ को दोस्रो चरणअन्तर्गत ९० वटा विमानको आपूर्ति सन् २०२९ देखि सुरु हुनेछ। ती विमान सन् २०३२ को अन्त्यसम्म एअरोफ्लोटले प्राप्त गर्ने योजना छ।
९० वटा एमएस–२१ विमानको लिज, आपूर्ति तथा प्राविधिक मर्मतसम्भारसम्बन्धी सम्झौताका शर्तहरूमा सहमति भइसकेको र निकट भविष्यमा औपचारिक सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको अलेक्जान्द्रोभ्स्कीले बताएका छन्।
एमएस–२१ विमान प्रारम्भिक चरणमा छोटो दूरीका आन्तरिक उडानमा प्रयोग गरिनेछन्। मस्को–सेन्ट पिटर्सबर्ग र मस्को–निझ्नी नोभगोरोडजस्ता व्यस्त रुटमा ती विमान सञ्चालन गर्ने योजना रहेको उनले बताए।
एअरोफ्लोटले एमएस–२१ सञ्चालनका लागि आवश्यक जनशक्ति तयारी पनि सन् २०२७ बाट सुरु गर्ने भएको छ। यसअन्तर्गत पाइलट, उडान परिचारक र इञ्जिनियरलाई नयाँ स्वदेशी विमान सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी तालिम दिइनेछ।
एमएस–२१ रुसले विकास गरेको नयाँ पुस्ताको मध्यम दूरीको यात्रुवाहक विमान हो। यसको प्रयोग विस्तारसँगै रुसी नागरिक उड्डयन क्षेत्रमा स्वदेशी विमानको हिस्सा बढाउने लक्ष्य राखिएको छ।





