लन्डन डर्बीमा चेल्सीमाथि आर्सनलको २–१ को पुनरागमन जित

ड्रागन मिडिया समाचार कक्ष
डिफेन्डिङ च्याम्पियन आर्सनलले लन्डन डर्बीमा चेल्सीलाई २–१ ले पराजित गरेको छ। खेलको सुरुवातमै पछि परेको आर्सनलले सानदार पुनरागमन गर्दै लगातार तेस्रो खेलमा जित निकाल्यो।
इमिरेट्स स्टेडियममा भएको खेलमा चेल्सीले दोस्रो मिनेटमै अग्रता लिएको थियो। आर्सनलका खेलाडीले रीस जेम्सको फ्रिकिक क्लियर गर्न नसकेपछि यसै सिजन ११ करोड ७० लाख पाउन्डमा अनुबन्धित मोर्गन रोजर्सले भलीमार्फत गोल गर्दै पाहुना टोलीलाई १–० को अग्रता दिलाए।
यो गोलसँगै आर्सनल सिजनमा पहिलो पटक गोल खाँदै खेलमा पछि परेको थियो। चेल्सीका गोलरक्षक एमिलियानो मार्टिनेजले बुकायो साकासहित आर्सनलका खेलाडीका केही महत्वपूर्ण प्रहार रोके। जोर्रेल हाटो र वेस्ली फोफानाले पनि महत्वपूर्ण ब्लक गर्दै चेल्सीको अग्रता जोगाउने प्रयास गरे।
तर २५औँ मिनेटमा आर्सनल खेलमा फर्कियो। चेल्सीका पूर्वफरवार्ड काई हाभर्ट्जले नजिकको पोस्टतर्फ उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याए।
त्यसपछि चेल्सी पुनः अग्रता नजिक पुगेको थियो। कप्तान रीस जेम्सको बक्सबाहिरबाट आएको शक्तिशाली प्रहारलाई आर्सनलका गोलरक्षक डेभिड रायाले रोके। पेड्रो नेटोको उत्कृष्ट व्यक्तिगत प्रयासपछि आएको प्रहार पोस्टमा लागेर फर्किँदा चेल्सीले अर्को अवसर गुमायो।
खेलको ५०औँ मिनेटमा आर्सनलले खेल उल्टायो। हाभर्ट्जले चलाखीपूर्ण रूपमा बल छाडिदिएपछि मार्टिन ओडेगार्डले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए। प्रिमियर लिगका पछिल्ला तीन खेलमा ओडेगार्डको यो दोस्रो गोल हो।
खेलको अन्त्यतिर चेल्सीका वैकल्पिक खेलाडी एस्टेभाओले बराबरी गोल गर्ने अवसर पाए पनि रायाले उत्कृष्ट फिङ्गरटिप सेभ गर्दै आर्सनलको जित सुरक्षित गरे।
गर्मीको ट्रान्सफर विन्डोमा करिब ३५ करोड पाउन्ड खर्च गरेको चेल्सीको इमिरेट्स स्टेडियममा प्रिमियर लिगअन्तर्गत लगातार पाँचौँ हार हो।





