इन्जुरी समयमा गोल खाँदा एभर्टनसँग म्यानचेस्टर युनाइटेड २–२ को बराबरीमा

ड्रागन मिडिया समाचार कक्ष
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग २–२ गोलको बराबरीमा रोकिएको छ। इन्जुरी समयको अन्तिम मिनेटमा गोल खाँदा युनाइटेड महत्वपूर्ण दुई अंक गुमाउन बाध्य भयो।
एभर्टनलाई एक अंक दिलाउने क्रममा एन्स्ली मैटल्यान्ड–नाइल्सले इन्जुरी समयको अन्तिम मिनेटमा बराबरी गोल गरे। ट्रान्सफर विन्डोको अन्तिम दिन लियोनबाट एभर्टनमा आबद्ध भएका इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी मैटल्यान्ड–नाइल्सले शक्तिशाली प्रहार गर्दै गोलरक्षक सेन लामेन्सलाई कुनै मौका दिएनन्।
दुईपटक पछि परेको एभर्टनले पुनरागमन गर्दै अन्ततः एक अंक सुरक्षित गर्यो। बराबरीसँगै उसले म्यानचेस्टर युनाइटेडलाई यस सिजनको पहिलो अवे जित हासिल गर्नबाट पनि रोक्यो।
जारी सिजनको पहिलो खेलमा पराजित भएको म्यानचेस्टर युनाइटेडले दोस्रो खेलमा जित निकालेको थियो। तेस्रो खेलमा भने उसले अंक बाँड्नुपर्यो।
यस बराबरीपछि युनाइटेडको तीन खेलबाट चार अंक भएको छ। म्यानचेस्टर सिटीले भने लगातार तीन खेल जित्दै नौ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ।





