२२ भाद्र २०८३, सोमबार

छिङहाइमा तिब्बती प्राचीन ग्रन्थको सम्पादन उपलब्धि प्रदर्शनी, ३० भन्दा बढी संस्थालाई पुस्तक दान

ड्रागन मिडिया समाचार कक्ष

चीनको छिङहाइ प्रान्तको सिनिङ शहरमा सेप्टेम्बर ६, २०२६ मा सिचुवान तिब्बती प्राचीन ग्रन्थ सम्पादन संस्थाको प्राचीन ग्रन्थ सम्पादन तथा प्रकाशन उपलब्धि प्रदर्शनी र पुस्तक दान समारोह आयोजना गरिएको छ।

कार्यक्रममा बेइजिङ, छिङहाइ, सिचुवान, कान्सु, भित्री मङ्गोलिया, युन्नान र क्वाङतुङलगायत क्षेत्रबाट आएका सम्बन्धित अधिकारी, विज्ञ, सांस्कृतिक संस्थाका प्रतिनिधि तथा सामाजिक सेवामा संलग्न व्यक्तिसहित दुई सयभन्दा बढी सहभागी उपस्थित थिए।

कार्यक्रमका वक्ताहरूले तिब्बती भाषाका प्राचीन ग्रन्थको सम्पादन, प्रकाशन र वितरणलाई सांस्कृतिक सम्पदा संरक्षण तथा पुनर्जीवनको महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरेका थिए। उनीहरूले प्राचीन ग्रन्थमा सुरक्षित ज्ञानलाई आधुनिक पाठकसम्म पुर्‍याउनु ऐतिहासिक दस्तावेजलाई जीवन्त बनाउने व्यावहारिक प्रयास भएको बताएका छन्।

दान गरिएका ग्रन्थमा दर्शन, तर्कशास्त्र, चिकित्सा, भाषाशास्त्र, पर्यावरण संरक्षणलगायत विभिन्न ज्ञान क्षेत्रसम्बन्धी सामग्री समेटिएका छन्। यसले तिब्बती भाषाको ऐतिहासिक ज्ञान परम्परा र विविध शैक्षिक विषयको अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समारोहमा छिङहाइ प्रान्तीय पुस्तकालय, सिनिङ शहर पुस्तकालय, हाइसी प्रिफेक्चर पुस्तकालय, हाइनान प्रिफेक्चर पुस्तकालय, ह्वाङनान प्रिफेक्चर पुस्तकालय, गोलोग प्रिफेक्चर पुस्तकालय, युशु प्रिफेक्चर पुस्तकालय, छिङहाइ विश्वविद्यालय पुस्तकालय तथा छिङहाइ मिन्जु विश्वविद्यालयअन्तर्गत तिब्बती अध्ययन संस्थानको अभिलेख केन्द्रलगायत ३० भन्दा बढी संस्थालाई पुस्तक प्रदान गरिएको थियो।

आयोजकका अनुसार पुस्तक दान कार्यक्रमले जातीय क्षेत्रका सर्वसाधारणलाई अध्ययन सामग्रीमा पहुँच विस्तार गर्नुका साथै सार्वजनिक पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

यो कार्यक्रम सिचुवान तिब्बती प्राचीन ग्रन्थ सम्पादन संस्थाको पुस्तक दान योजनाअन्तर्गत छिङहाइमा आयोजना गरिएको दोस्रो प्रमुख चरण हो। यसअघि सन् २०२५ मा सिचुवान केन्द्रित यस्तै कार्यक्रम सञ्चालन गरिएको थियो।

आगामी दिनमा तिब्बती प्राचीन ग्रन्थको संरक्षण, विज्ञ तथा अनुसन्धानकर्ता उत्पादन, डिजिटल अभिलेखीकरण, संस्थागत सहकार्य र सार्वजनिक पठन प्रवर्द्धनमा छिङहाइका सम्बन्धित संस्थासँग सहकार्य थप विस्तार गर्ने योजना रहेको जनाइएको छ।

आयोजकहरूले प्राचीन तिब्बती ग्रन्थलाई संरक्षणमा मात्र सीमित नराखी व्यवस्थित सम्पादन, प्रकाशन, डिजिटल रूपान्तरण र सार्वजनिक पहुँचमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्य रहेको बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button