२२ भाद्र २०८३, सोमबार

त्रिशूली ३ ‘बी’का बेपत्ता खोज्न ढिलाइ भएको भन्दै पीडित परिवारको प्रदर्शन

ड्रागन मिडिया सम्वाददाता

काठमाडौं। रसुवा बाढीपछि माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनामा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारमा ढिलाइ भएको भन्दै पीडित परिवारले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

बाढी आएको १३ दिन बितिसक्दा पनि आयोजनाको सुरुङ खोल्न नसकिएको भन्दै पीडित परिवारले खोजी कार्यलाई तीव्र बनाउन सरकारसँग माग गरेका हुन्। उनीहरूले ठूलो उपकरण र थप जनशक्ति परिचालन गरेर सुरुङभित्र बेपत्ता भएकाहरूको खोजीलाई उच्च प्राथमिकता दिन आग्रह गरेका छन्।

वरिष्ठ भूगर्भविद् सुमेश अमात्यकी पत्नी सुमना श्रेष्ठ अमात्यले आफ्ना श्रीमान् बाढी आउँदा सुरुङभित्रै रहेको अनुमान गरिएको बताएकी छन्। बाढी आउनुअघिको उनको मोबाइलको अन्तिम स्थानसमेत सुरुङभित्र देखिएको परिवारको भनाइ छ।

सुमनाले सरकारले काम नै नगरेको नभए पनि खोजी र उद्धारमा पर्याप्त तदारुकता नदेखिएको गुनासो गरेकी छन्। नेपालमा आवश्यक उपकरण वा जनशक्ति उपलब्ध नभए चीन वा भारतबाट ल्याएर भए पनि खोजी कार्य छिटो गर्नुपर्ने उनको माग छ।

बर्दियाको बाँसगढी नगरपालिका ८ का सागर पौडेलका दाजु सोमनाथ पौडेल, भाउजु तारा र उनीहरूका दुई छोरीसमेत बाढीपछि बेपत्ता छन्। सोमनाथ आयोजनामा इलेक्ट्रिकल इञ्जिनियरका रूपमा कार्यरत थिए। परिवारका अनुसार बाढी आउनुअघिको उनको मोबाइलको अन्तिम स्थान सुरुङभित्र र ताराको स्थान आयोजनाको आवास क्षेत्रमा देखिएको थियो।

सागरले सुरुङभित्र कोही जीवित अवस्थामा फसेको भए उद्धारमा हुने प्रत्येक ढिलाइले उनीहरूको बाँच्ने सम्भावना घटाउँदै लैजाने भन्दै तत्काल खोजी तीव्र बनाउन आग्रह गरेका छन्। पीडित परिवारले “कति दिन कुरेर बस्ने, कति दिन रोएर बस्ने” भन्दै त्रिशूली ३ ‘बी’को खोजी कार्यलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।

सरकारका अनुसार माथिल्लो त्रिशूली ३ ‘बी’ क्षेत्रमा १५० भन्दा बढी व्यक्ति बेपत्ता भएको अनुमान छ। सुरुङ खोल्न नेपाली सेनासहितको टोली परिचालन गरिएको छ। खोजीका क्रममा नदी किनारबाट करिब १० फिटसम्म खन्दा पनि आयोजनाको भौतिक संरचना फेला नपरेको जनाइएको छ।

यसैगरी आयोजनाको एउटा सुरुङबाट अर्को सुरुङतर्फ जाने बाटो जेसीबी प्रयोग गरी सफा गर्ने काम भइरहेको छ। तर पीडित परिवारले उपलब्ध जनशक्ति र उपकरण पर्याप्त नभएको भन्दै खोजी तथा उद्धारको गति अझै बढाउन सरकारमाथि दबाब दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button