बाढीपीडितका लागि कांग्रेसद्वारा एक करोड रुपैयाँ सहयोग

ड्रागन मिडिया सम्वाददाता
काठमाडौं। नेपाली कांग्रेसले रसुवा, नुवाकोटलगायत बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कांग्रेसले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एक करोड रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीका तर्फबाट उक्त रकमको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरे।
चेक हस्तान्तरणका लागि महामन्त्री पौडेलको नेतृत्वमा कांग्रेसको प्रतिनिधिमण्डल अर्थ मन्त्रालय पुगेको थियो। प्रतिनिधिमण्डलमा पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठलगायत नेता सहभागी थिए।
कांग्रेसले रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको तत्काल राहत, बेपत्ताको खोजी तथा दीर्घकालीन पुनर्स्थापनामा सरकारलाई आवश्यक सहयोग गर्न पार्टी तयार रहेको जनाएको छ।
हालैको बाढीले रसुवा र नुवाकोटसहित त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो जनधन तथा पूर्वाधारको क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाको काम जारी छ।





