जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपिल

ड्रागन मिडिया सम्वाददाता
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललगायत पारिस्थितिकीय रूपमा जोखिममा रहेका राष्ट्रका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग ठोस र प्रभावकारी कदम चाल्न अपिल गरेका छन्।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पछिल्लो विनाशकारी बाढीले नेपालको हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था उजागर गर्नुका साथै निरन्तर बढिरहेको विश्वव्यापी तापक्रमबाट सिर्जित जोखिमप्रति विश्व समुदायलाई पुनः गम्भीर बनाएको बताए।
“म अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु,” राष्ट्रपति पौडेलले भने।
नेपालले विगतमा भूकम्प, बाढी, पहिरो, महामारीलगायत विभिन्न विपदको सामना गरिसकेको उल्लेख गर्दै उनले प्रत्येक कठिन परिस्थितिमा नेपाली जनताले साहस, धैर्य, संयम र दृढताका साथ चुनौती सामना गरेको स्मरण गरे।
राष्ट्रपति पौडेलले वर्तमान संकटलाई राष्ट्रिय एकता र ऐक्यबद्धताका साथ सामना गर्न राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय र सम्पूर्ण नागरिकलाई आह्वान गरे।
“यो विभाजनको समय होइन। एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन,” उनले भने, “यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो।”
बाढीबाट भएको व्यापक क्षतिपछि पुनर्निर्माण र पुनःस्थापनाको प्रक्रियामा जाँदा नेपालले अपनाउँदै आएको विकास मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता उनले औँल्याए। जलवायु जोखिम, भौगोलिक संवेदनशीलता र प्राकृतिक प्रणालीलाई बेवास्ता गरेर अघि बढाइने विकास भविष्यमा अझ ठूलो क्षतिको कारण बन्न सक्ने विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले बेपत्ता परिवारका सदस्य तथा आफन्तको खबर पर्खिरहेका नागरिकलाई खोजी तथा उद्धार कार्य निरन्तर जारी रहने विश्वास दिलाए। उद्धार गरिएका प्रत्येक व्यक्तिलाई खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।
बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकलाई राहत तथा पुनर्स्थापनामा प्राथमिकता दिनुपर्ने राष्ट्रपति पौडेलले बताए। अस्थायी आश्रयस्थल सुरक्षित र मर्यादित बनाउन सरकार तथा सम्बन्धित निकाय विशेष संवेदनशील हुनुपर्नेमा पनि उनले ध्यानाकर्षण गराए।
उनले नेपाली तथा विदेशी दुवै नागरिकका परिवारलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउन, बेपत्ताको खोजीलाई प्रभावकारी बनाउन तथा आफ्ना प्रियजनलाई घर फर्काउन आवश्यक मानवीय सहजीकरण गर्न सम्बन्धित निकायलाई आग्रह गरे।
राष्ट्रपति पौडेलले खोजी, उद्धार र राहतमा सहयोग पुर्याइरहेका छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति कृतज्ञता व्यक्त गर्दै वर्तमान विपदलाई जलवायु परिवर्तनबाट उत्पन्न साझा जोखिमविरुद्ध दीर्घकालीन अन्तर्राष्ट्रिय सहकार्य निर्माण गर्ने अवसरका रूपमा समेत लिनुपर्ने सन्देश दिएका छन्।





