२२ भाद्र २०८३, सोमबार

वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गरेको आरोपमा पाँच पक्राउ

ड्रागन मिडिया सम्वाददाता

रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवा नेवार टोलमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार भदौ १८ गते राति करिब १२ बजे ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छीमाया तामाङ घरमा सुतिरहेका बेला नकाबधारी तीन जना घरभित्र प्रवेश गरेका थिए। उनीहरूले दम्पतीको हात प्लास्टिकको टेपले बाँध्नुका साथै मुख थुनेर आँखामा पट्टी लगाई ज्यान मार्ने धम्की दिएको प्रहरीको भनाइ छ।

दम्पतीलाई नियन्त्रणमा लिएपछि उनीहरूले लगाएका गरगहना र घरमा राखिएको नगद लुटेर समूह फरार भएको प्रहरीले जनाएको छ। घटनापछि अनुसन्धान अघि बढाएको प्रहरीले भक्तपुरका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवाका ३२ वर्षीय दीर्घराज मोक्तान, सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पीताम्बर गहतराज र धनकुटाको बेलाहारा–५ का ३८ वर्षीय दीपक भन्ने गुणराज विश्वकर्मा रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट नगद, मोबाइल, दुई वटा मोटरसाइकल, बैंक तथा सहकारीसम्बन्धी कागजात, घटनामा प्रयोग भएको भनिएको कपडा तथा सुनजस्तो देखिने पहेँलो धातुका गरगहनालगायत सामग्री बरामद गरेको जनाएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका पशुपति श्रेष्ठको समूह अन्य चोरीका घटनामा समेत संलग्न रहेको देखिएको प्रहरीको दाबी छ। उक्त समूहले खाँडादेवी–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दान पेटिका फुटाएर रकम चोरी गरेको घटनामा समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ।

त्यस्तै, खाँडादेवी–३ की सुन्दरी श्रेष्ठको करिब २८ देखि ३० किलोको खसी तथा सोही वडाका रामबहादुर श्रेष्ठको गोठबाट करिब १५ किलोको बोका चोरी भएको घटनामा पनि उक्त समूहको संलग्नता देखिएको प्रहरी निरीक्षक कमल राउतले बताए।

प्रहरी अभिलेखअनुसार पशुपति श्रेष्ठविरुद्ध यसअघि काठमाडौंको प्रहरी वृत्त कालीमाटीमा डाँका तथा चोरीसम्बन्धी मुद्दा चलेको थियो। दीर्घराज मोक्तानविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापबाट अभद्र व्यवहारसम्बन्धी मुद्दा र गुणराज विश्वकर्माविरुद्ध प्रहरी वृत्त बौद्धमा जुवासम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनामाथि डकैती तथा अन्य चोरीका घटनामा संलग्नताबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button