बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी आवास र दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न नेकपाको माग
ड्रागन मिडिया सम्वाददाता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भोटेकोशी–त्रिशूलीमा आएको प्रलयकारी बाढीबाट प्रभावित क्षेत्रमा तत्काल सुरक्षित अस्थायी आवास, दीर्घकालीन पुनःस्थापना तथा अत्यावश्यक सेवा सञ्चालनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
नेकपाको केन्द्रीय कार्य संयोजन समितिले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षति, प्रभावित क्षेत्रमा देखिएका समस्या तथा उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका विषयमा विशेष प्रस्ताव पारित गर्दै सरकारले चाल्नुपर्ने थप कदमबारे ध्यानाकर्षण गराएको हो।
पार्टीले उद्धार गरिएका, विस्थापित तथा जोखिममा रहेका परिवारका लागि तत्काल अस्थायी बासोबासको व्यवस्था गर्न आग्रह गरेको छ। जोखिमयुक्त बस्ती पहिचान गरी मध्यकालीन तथा दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित बस्ती विकासका लागि स्पष्ट कार्ययोजना, समयसीमा, बजेट र जिम्मेवारी निर्धारण गर्न पनि माग गरिएको छ।
नेकपाले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्शको पर्याप्त व्यवस्था गर्न र प्रभावित विद्यार्थीको पठनपाठन यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेको छ।
स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चारलगायत अत्यावश्यक सेवा तत्काल पुनःसञ्चालन गर्न तथा सेवा प्रवाह गर्ने सरकारी कार्यालयका लागि आवश्यक परे वैकल्पिक व्यवस्था मिलाउन पनि पार्टीले माग गरेको छ।
आम नागरिकको दैनिक जीवन थप असहज हुन नदिन खाद्यान्न, इन्धन तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन र विपदको अवस्थाको फाइदा उठाउँदै हुन सक्ने कुनै पनि प्रकारका अनियमितता तथा कृत्रिम अभाव कडाइका साथ नियन्त्रण गर्नुपर्ने नेकपाको प्रस्तावमा उल्लेख छ।
बाढीबाट क्षतिग्रस्त सडक, पुल तथा अन्य यातायात पूर्वाधार यथाशीघ्र सञ्चालनमा ल्याई आवागमन सहज बनाउन पनि पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ। सम्भाव्यता र आवश्यकताका आधारमा बेलीब्रिज, तुइन तथा झोलुङ्गे पुल जडानको काम तत्काल अघि बढाउन माग गरिएको छ।
नेकपाले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका काम प्रभावकारी बनाउन संघीय सरकारले प्रदेश तथा स्थानीय तहसँग निरन्तर समन्वय र सहकार्य गर्नुपर्नेमा समेत जोड दिएको छ।





