सन् २०३० सम्म नयाँ पुस्ताको सञ्चार सञ्जाल निर्माण पूरा गर्ने चीनको लक्ष्य

ड्रागन मिडिया समाचार कक्ष
बेइजिङ। चीनले सन् २०३० सम्म देशव्यापी पहुँच र अग्रणी कार्यसम्पादन क्षमतासहितको नयाँ पुस्ताको सञ्चार सञ्जाल निर्माण पूरा गर्ने लक्ष्यसहित सूचना तथा सञ्चार उद्योग विकास योजना सार्वजनिक गरेको छ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले १५औँ पञ्चवर्षीय योजना अवधि सन् २०२६ देखि २०३० का लागि सार्वजनिक गरेको योजनाले सूचना तथा सञ्चार क्षेत्रको उच्च गुणस्तरीय विकासलाई तीव्र बनाउने लक्ष्य राखेको छ।
योजनाअनुसार सन् २०३० सम्म प्राविधिक रूपमा उन्नत, सुरक्षित तथा नियन्त्रणयोग्य सूचना तथा सञ्चार औद्योगिक प्रणालीको विकासलाई तीव्र पारिनेछ। प्रविधि र व्यवस्थापनलाई एकीकृत गर्ने चुस्त तथा प्रभावकारी शासन प्रणाली निर्माण गर्नुका साथै सञ्जाल तथा तथ्याङ्क सुरक्षाको क्षमता उल्लेखनीय रूपमा सुदृढ गरिनेछ।
सूचना तथा सञ्चार प्रविधिको अन्य उद्योगलाई सशक्त बनाउने क्षमता र अन्तर्राष्ट्रियकरणको स्तरसमेत थप विस्तार गर्ने लक्ष्य राखिएको छ। यसले सन् २०३५ सम्म चीनको सूचना तथा सञ्चार क्षेत्रलाई मूलतः आधुनिकीकरण गर्ने आधार तयार पार्ने मन्त्रालयले जनाएको छ।
योजनामा १३ प्रमुख सूचक निर्धारण गरिएको छ। सन् २०३० सम्म सूचना तथा सञ्चार उद्योगको वार्षिक आम्दानी ४.१ ट्रिलियन युआन अर्थात् करिब ६०४.८ अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ।
त्यस्तै, सूचना पूर्वाधारमा पाँच वर्षको अवधिमा कुल ३.८ ट्रिलियन युआन लगानी गर्ने तथा दूरसञ्चार व्यवसायको कुल परिमाणमा औसत वार्षिक ७ प्रतिशत वृद्धि हासिल गर्ने लक्ष्य तय गरिएको छ।
सन् २०३० सम्म प्रत्येक १० हजार जनसंख्यामा ५जी तथा ५जी एड्भान्स्डसहित ५० आधार केन्द्र उपलब्ध गराउने योजना छ। सो अवधिसम्म ५जी प्रयोगकर्ता प्रवेश दर ९५ प्रतिशत पुर्याउने लक्ष्यसमेत राखिएको छ।
चीनले कृत्रिम बौद्धिकता र डिजिटल अर्थतन्त्रको तीव्र विस्तारलाई ध्यानमा राख्दै बौद्धिक कम्प्युटिङ क्षमता पनि ठूलो मात्रामा वृद्धि गर्ने भएको छ। सन् २०३० सम्म देशको बौद्धिक कम्प्युटिङ क्षमता ९ हजार ८०० एक्साफ्लप्स पुर्याउने लक्ष्य राखिएको छ।
एक एक्साफ्लप्सले प्रतिसेकेन्ड १० को १८ घात अर्थात् एक क्विन्टिलियन फ्लोटिङ पोइन्ट गणना गर्न सक्ने कम्प्युटिङ क्षमतालाई जनाउँछ।
१५औँ पञ्चवर्षीय योजना अवधिमा चीनले नयाँ पुस्ताको सञ्चार सञ्जाल, कम्प्युटिङ सञ्जाल, ५जीको व्यापक प्रयोग, औद्योगिक इन्टरनेट, कृत्रिम बौद्धिकता र ६जी प्रविधिको अनुसन्धान तथा विकासलाई विशेष प्राथमिकता दिने तयारी गरेको छ।
मन्त्रालयले ६जीका मुख्य प्रविधिमाथि अनुसन्धान, परीक्षण तथा मापदण्ड निर्माणलाई तीव्र बनाउँदै भविष्यको व्यावसायिक प्रयोगका लागि आवश्यक औद्योगिक तथा प्राविधिक आधार तयार पार्ने जनाएको छ।





