केरुङ विपदमा चीनतर्फ ४३ जनाको मृत्यु, ५१९ बेपत्ता

ड्रागन मिडिया समाचार कक्ष
नेपालतर्फको उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि अगस्ट २६ मा नेपाल–चीन सीमास्थित केरुङ बन्दरगाह क्षेत्रमा आएको विनाशकारी लेदो पहिरोमा चीनतर्फ मृत्यु हुनेको संख्या ४३ पुगेको छ भने ५१९ जना अझै बेपत्ता छन्।
चिनियाँ अधिकारीका अनुसार शनिबार साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार बेपत्ता हुनेमध्ये २३ देशका २६१ विदेशी नागरिक रहेका छन्। आइतबार स्वदेशी तथा विदेशी पत्रकारहरूको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो अवस्था सार्वजनिक गरिएको हो।
विदेशी सञ्चारमाध्यमका पत्रकारले सप्ताहान्तमा सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहको विपद प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेपछि पत्रकार सम्मेलन आयोजना गरिएको थियो।
विपदपछि चीनले ठूलो संख्यामा जनशक्ति, सवारीसाधन र प्रविधि परिचालन गरी खोजी तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ। शनिबार साँझसम्म २ हजार ५०० भन्दा बढी उद्धारकर्मी र ५०० भन्दा बढी सवारीसाधन परिचालन गरिएको छ।
ड्रोनमार्फत एक हजारभन्दा बढी उडान सञ्चालन गरिएको छ भने कठिन क्षेत्रमा ५.४३ टन राहत सामग्री हवाई माध्यमबाट खसालिएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
लेदो पहिरोले केरुङ बन्दरगाह र आसपासका क्षेत्र क्षतिग्रस्त बनाएपछि त्यहाँ काम तथा व्यापार गर्ने ठूलो संख्याका नेपाली नागरिकसमेत प्रभावित भएका छन्। स्थानीय चिनियाँ अधिकारीहरूले केरुङमा रहेका एक हजार ७२० नेपाली सीमाबासीलाई आवश्यक सहयोग उपलब्ध गराएको जनाएका छन्।
बन्दरगाह ध्वस्त भएपछि नियमित रूपमा नेपाल आउजाउ गर्ने धेरै नेपाली केरुङ क्षेत्रमा रोकिएका थिए। उनीहरूको आवास, दैनिक आवश्यक सामग्री तथा अन्य मानवीय आवश्यकतामा स्थानीय निकायले सहयोग गरिरहेको बताइएको छ।
चीनले विपदपछिको अवस्थाबारे नेपालसँग सूचना आदानप्रदान पनि निरन्तर गरिरहेको छ। स्थापित विपद सूचना आदानप्रदान संयन्त्रमार्फत मौसम, जलविज्ञान तथा हिमनदीसम्बन्धी तथ्याङ्क नेपाललाई दैनिक रूपमा उपलब्ध गराइरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
केरुङ क्षेत्रमा खोजी तथा उद्धार कार्य अझै जारी छ। चीनले बेपत्ताको खोजी, मृतकको पहिचान तथा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छ।





