बाढीपीडितमाथि गालीगलौज र घृणात्मक टिप्पणी गर्नेको खोजीमा साइबर ब्यूरो, एक जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता
रसुवा बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला सामाजिक सञ्जालमार्फत बाढीपीडित तथा विभिन्न समुदायप्रति घृणात्मक अभिव्यक्ति दिने, गालीगलौज गर्ने र भ्रामक सामग्री फैलाउने व्यक्तिमाथि नेपाल प्रहरीको साइबर ब्यूरोले निगरानी र कारवाही तीव्र बनाएको छ। बाढी आएर राम्रो भएको भन्दै विभिन्न जातजातिलाई लक्षित गरी आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउसमेत गरेको छ।
प्रहरीका अनुसार रसुवा बाढीमा श्रीमान् बेपत्ता भएकी एक महिलाले खोज तथा उद्धारमा ढिलाइ भएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेपछि सामाजिक सञ्जालमा उनीमाथि समेत गालीगलौज र अपमानजनक टिप्पणी गरिएको थियो। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले आफन्त गुमाएका तथा बेपत्ता भएका परिवारको आक्रोशलाई पीडाको स्वाभाविक अभिव्यक्ति भन्दै पीडितमाथि थप पीडा दिनेहरूमाथि सरकार कडा हुने बताएका थिए।
प्रधानमन्त्रीको अभिव्यक्तिपछि साइबर ब्यूरोले पीडित महिलामाथि गालीगलौज गर्ने व्यक्तिको पहिचान र खोजी शुरु गरेको छ। ब्यूरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीका अनुसार हालसम्म त्यस्ता टिप्पणी गर्ने दुई जनाको पहिचान भएको छ। तीमध्ये एक जना रुपन्देही र अर्का तनहुँका रहेको तथा उनीहरूको खोजीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिसकिएको छ। अन्य व्यक्तिको समेत पहिचान गरी कारवाहीको दायरामा ल्याउने ब्यूरोले जनाएको छ।
यसैबीच, बाढी आएर राम्रो भएको र राई, लिम्बु, तामाङ, मगर, गुरुङ तथा शेर्पा समुदायलाई लक्षित गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले २४ वर्षीय बिरेन्द्र मडैलाई पक्राउ गरेको छ। बैतडीको सुर्नया गाउँपालिका ७ स्थायी घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका १२ बलम्बुमा बस्दै आएका मडैमाथि विभिन्न जातजातिलाई होच्याउने तथा अमानित गर्ने सामग्री प्रकाशन गरेको आरोपमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साइबर ब्यूरोले बाढीसँग सम्बन्धित गलत तथा भ्रामक सूचना फैलिन नदिन छुट्टै टोलीसमेत परिचालन गरेको छ। बाढी आएको भदौ १० गतेदेखि १० सदस्यीय टोलीले सामाजिक सञ्जालमा प्रसारित सामग्रीको निगरानी गरिरहेको ब्यूरोले जनाएको छ।
प्रहरीका अनुसार फेसबुक, टिकटक र इन्स्टाग्राममा हालसम्म एक सय ७३ वटा भ्रामक सामग्री पहिचान गरिएका छन्। तीमध्ये फेसबुकमा १६८ वटा सामग्री भेटिएकामा ७९ वटा हटाइएको छ। टिकटकमा फेला परेका चारवटै सामग्री हटाइएको छ भने इन्स्टाग्राममा भेटिएको एउटा सामग्री हटाउन सम्बन्धित कम्पनीलाई आग्रह गरिएको छ।
प्रहरीले विपदको संवेदनशील अवस्थामा पीडित, जातीय समुदाय वा राहत तथा उद्धार प्रक्रियासम्बन्धी भ्रामक, घृणात्मक र अपमानजनक सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्दै सामाजिक सञ्जालको प्रयोगमा कानुनी जिम्मेवारी र मानवीय संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएको छ।





