२२ भाद्र २०८३, सोमबार

जापानबाट म्याग्दीमा अदुवा र टिमुर प्रशोधन केन्द्रका लागि ४३ हजार अमेरिकी डलर अनुदान

ड्रागन मिडिया सम्वाददाता

जापान सरकारले म्याग्दीमा अदुवा र टिमुर प्रशोधन केन्द्र निर्माण तथा स्तरोन्नतिका लागि ४३ हजार १७५ अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ। परियोजनाबाट बेनी नगरपालिकाका करिब ६ सय महिला किसान लाभान्वित हुने अपेक्षा गरिएको छ।

काठमाडौंस्थित जापानी दूतावासमा सोमबार नेपालका लागि जापानका राजदूत माएदा तोरु र लाइभलिहुड एजुकेसन एन्ड डेभलपमेन्ट सोसाइटी नेपाल (लिड्स् नेपाल) का कार्यकारी निर्देशक पदमराज श्रेष्ठले अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन्।

परियोजना जापान सरकारको ग्रासरुट परियोजनाका लागि अनुदान सहायता (जीजीपी) कार्यक्रमअन्तर्गत सञ्चालन हुनेछ। लिड्स् नेपालले परियोजना कार्यान्वयन गर्नेछ भने यसको मुख्य लाभग्राही बेनी नगरपालिकामा रहेको महिला किसान सहकारी हुनेछ।

म्याग्दी उच्च गुणस्तरको अदुवा र टिमुर उत्पादनका लागि परिचित जिल्ला हो। यी कृषि उपज स्थानीय किसानको आम्दानीका महत्वपूर्ण श्रोत भए पनि पर्याप्त प्रशोधन सुविधा र आधुनिक उपकरणको अभावका कारण किसानले उत्पादनबाट अपेक्षित मूल्य प्राप्त गर्न कठिनाइ भोग्दै आएका छन्।

परियोजनाअन्तर्गत अदुवा र टिमुर प्रशोधन केन्द्रको निर्माण तथा स्तरोन्नति गर्नुका साथै आधुनिक प्रशोधन उपकरण जडान गरिनेछ। यसबाट प्रशोधन क्षमता र उत्पादनको गुणस्तर बढ्ने तथा किसानलाई उच्च मूल्यका वस्तु उत्पादन गरी बजार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रशोधन सुविधा विस्तार भएपछि स्थानीयस्तरमै अदुवा र टिमुरको मूल्य अभिवृद्धि गर्न सकिने भएकाले किसानको आम्दानी वृद्धि हुनुका साथै ग्रामीण जीविकोपार्जन थप सुदृढ हुने विश्वास गरिएको छ।

जापानी दूतावासले परियोजनाले म्याग्दीको दिगो ग्रामीण विकास, महिला किसानको आर्थिक सशक्तीकरण र स्थानीय कृषि उत्पादनको व्यावसायीकरणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षका अवसरमा अघि बढाइएको यस परियोजनाले दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षासमेत गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button